News

नेपाल र भारत सहसचिव स्तरीय बैठक सुरु, यस्ता छन २ दिनका एजेण्डा

नेपाल र भारत सहसचिव स्तरीय बैठक सुरु, यस्ता छन २ दिनका एजेण्डा

नेपाल र भारत सरकारको सहसचिव स्तरीय बैठक बुधबारबाट काठमाडौंमा सुरु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार बैठक दुई दिनसम्म चल्नेछ।

बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड रेगुलेटर र लिंक नहरको ओडाल टाई, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिँचाइको पानी छोड्नेबारे छलफल हुनेछ ।

यसैगरी, सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोसी भण्डारण सह डाइभर्सन योजनाका बारेमा कोसी र गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरू, कोसी आयोजना, गण्डक आयोजना, विभिन्न द्विपक्षीय समितिका गतिविधिहरूका बारेमा छलफल हुनेछ ।

नेपालबाट भारततर्फ बहने अन्य नदीहरुको डुबान र कटानका समस्याहरू, खाँडो, बाणगंगा र पश्चिम राप्ती नदीहरूमा नयाँ उठाइएका कामहरूको स्थितिका बारेमा पनि छलफल हुने बताइएको छ ।

महाकाली सागरका कारण भएका समस्या, भुजेला गाउँको महाकाली नदीमा कटान र नेपाल–भारत सीमा क्षेत्रका मुद्दाहरु, नेपालबाट भारततर्फको उडानका बारेमा पनि छलफल हुनेजनाईएको छ ।

विशेष