News

नागरिकता विधेयक राष्ट्रिय हितमा थिएन: राष्ट्रिय स्वतन्त्र पार्टी

नागरिकता विधेयक राष्ट्रिय हितमा थिएन: राष्ट्रिय स्वतन्त्र पार्टी

नागरिक्ता विधेयक प्रकरणमा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मुख खोलेको छ। पार्टीका प्रवक्ता तथा महामन्त्री डा. मुकुल ढकालले विज्ञप्ति जारी गर्दै नागरिकता विधेयक राष्ट्रिय हितमा नभएको बताएका छन् ।

नागरिकता जस्तो विषयमा पाँच वर्षसम्म मौन रहेर अहिले हतारो गरिनु शङ्कास्पद रहेको भन्दै अहिले विधेयकलाई चुनावी एजेण्डाका रूपमा प्रयोग गर्नु दूषित राजनीतिक अभ्यास भएको विज्ञप्तिमा जनाईएको छ। ‘विधेयक राष्ट्रहितमा थिएन । तर ५ वर्षसम्म नागरिकता जस्तो विषयमा मौन रहेर अन्तिम समयमा जुन किसिमको हतारो गरियो, त्यो शंकास्पद रहेको छ’ ढकालले भनेका छन्–‘यसरी विधेयकलाई चुनावी एजेन्डाको रूपमा प्रयोग गर्नु दूषित राजनीतिक अभ्यास हो।’

संविधानमाथि उठेका प्रश्नहरूको निर्क्यौल न्यायालयले गरे पनि गैरसंवैधानिक कदम चालिनु पर्ने परिस्थितिको दोष राष्ट्रपति मात्रै नभएर संसद् र सबै दलले बोक्नुपर्ने जनाईएको छ। अहिलेको अवस्था आउनुमा राजनीतिक दलहरूको अकर्मण्यता र राजनीतिक स्वार्थको दाउपेचका कारण भएको विज्ञप्तिमा उललेख छ।

‘राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणिकरण नहुनुका कारण उठेको संवैधानिक प्रश्नको निक्यौल न्यायालयले गर्नेनै भएतापनि वर्तमान परिस्थिति आउनुमा राजनीतिक दलहरूको अकर्मण्यता र राजनीतिक स्वार्थको दाउपेच जिम्मेवार रहेको स्पष्ट छ।’ विज्ञप्तिमा भनिएको छ–‘यसर्थ यो गैरसंवैधानिक कदम चालिनु पर्ने परिस्थितिको दोष राष्ट्रपतिले मात्र होइन संसदले बोक्नु पर्छ, राजनीतिक दलहरुले बोक्नु पर्छ ।’

नागरिकता विधेयकका लागि संसदीय समितिमा भएका छलफलहरुलाई अर्थहिन बनाएर विधेयक उत्पत्ति गर्नु नै गल्तीको सुरुवात भएको पार्टीको ठहर छ। ‘त्यसपछि सत्तापक्षको बल मिच्याइँ तथा विपक्षी दलबाट राजनीतिक अभिष्ट पूरा गर्न गरिएका धुर्त्याइँले गल्ती थप जटिल भएको हो ।’

राष्ट्रपतिबाट नागरिकतामा प्रादेशिक पहिचान र आमाको सम्मान लगायतका विषयमा दिइएका मनन योग्य सुझाव समेत वेवास्ता गरेर सत्ता पक्षको बल मिच्याई हावी रहिरहनुले पनि यो परिस्थिति सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ।

रवी लामिछाने

विशेष