News

जापानको अनुदानमा चन्द्र नहरको मर्मत सम्भार गरिने

जापानको अनुदानमा चन्द्र नहरको मर्मत सम्भार गरिने

सरकारले जापान सरकारको अनुदान तथा सहुलियत ऋणमा चन्द्र नहर सिंचाइ प्रणालीको मर्मत सम्भार एवम् सुधार गर्ने भएको छ। पूर्वी तराई क्षेत्रमा भरपर्दो र निरन्तर सिंचाइ सुविधाका लागि चन्द्र नहरको मर्मत संभार गरिने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

जापानले नेपाललाई १६ अर्ब भन्दा बढी ऋण तथा अनुदान सहायता दिने सम्झौता भएपछि मन्त्रालयले यस्तो जानकारी गराएको हो। बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सहायता उपलब्ध गराउनेबारे सम्झौता भएको हो ।

जापानले जापानी येन २२५.६० करोड (करिब रु. २ अर्ब) अनुदान सहायता र शहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि जापानी येन १५९.०१ करोड (करिब रु १४.२ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण सहायता उपयोग गर्ने सम्बन्धी छुट्टाछुट्टै सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

वार्षिक ०.०१ प्रतिशत व्याजदर, ३० वर्षको भुक्तानी अवधि र १० वर्षको ग्रेस अवधि रहेको सहुलियतपूर्ण ऋण काठमाडौं र पोखरा लगायतका सहरमा प्रसारण चुहावट घटाउन र वितरण प्रणालीको विश्वसनीयता बढाउनका लागि प्रयोग गरिने मन्त्रालयले जनाएको छ ।

सम्झौता पत्रमा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरेका छन् । नेपाल सरकारका तर्फबाट अर्थसचिव कृष्णहरि पुस्कर र जापान सरकारका तर्फबाट नेपालका लागि जापानका राजदूत किकुता युताकाले सम्झौता पत्र आदान प्रदान गरे। 

चन्द्र नहर

विशेष