News

मकवानपुर र रुकुममा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु 

मकवानपुर र रुकुममा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु 

मकवानपुरको भीमफेदी र रुकुम पूर्वको भूमे गाउँपालिका बस दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ। 

मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतको एघार घुम्तीको ओरालोमा यात्रु बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । शवको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।
 
काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८  नम्बरको बस कुलेखानी छोटो मार्गअन्तर्गत भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको हो। घुम्तीमा बस मोड्ने क्रममा ब्रेक नलागेपछि बस तल खसेको हुनसक्ने प्रहरीले जनाएको छ ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो। ओरालो बाटोमा माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ ।

घाइतेहरुको हेटौंडाका अस्पतालहरूमा उपचार भइरहेको छ । बसमा सवार यात्रुको संख्या यकिन नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। बस दुर्घटनाले अहिले छोटो मार्ग अवरुद्ध भएको छ ।

यसैगरी, रुकुम पूर्वको भूमे गाउँपालिका ३ को क्याङसी बगरमा बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौंबाट रुकुमकोट जाँदै गरेका ग १ ख ९१०९ नम्बरको बस भूमे २ को खावाङ बगर नजिकै पर्ने वडा नम्बर ३ को क्याङसी बगरमा दुर्घटना भएको हो।

मृतकको सनाखत हुन बाँकी छ। बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

विशेष