News राजनीति

स्वतन्त्र उठ्ने घोषणा गरेका अब्दुस मियाँ र ‘अपहरण’को आरोप लागेका पूर्वआईजिपी खनाल एमाले प्रवेश

स्वतन्त्र उठ्ने घोषणा गरेका अब्दुस मियाँ र ‘अपहरण’को आरोप लागेका पूर्वआईजिपी खनाल एमाले प्रवेश

काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मियाँ र पूर्वमन्त्रीसमेत रहेका सांसद सुरेन्द्र यादवको राजनीतिक ‘अपहरण’मा संलग्न भएको आरोप लागेका तत्कालिन नेपाल प्रहरी प्रमुख (प्रहरी महानिरीक्षक) सर्वेन्द्र खनाल एमाले प्रवेश गरेका छन्।

बिहीबार एमाले कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले मियाँ र खनालाई एमाले प्रवेश गरेका हुन् । मियाँ काठमाडौं ६ मा स्वतन्त्र उठ्ने भन्दै विवेकशील साझा पार्टी छाडेका थिए। उनलाई पार्टी प्रवेश कार्यक्रममा विवेकशील साझाका संस्थापक सदस्य भनेर चिनाइएको थियो।

गत असार ११ गते मियाँले आफू काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवार हुने घोषणा गरेका थिए। ३० वर्षीय मियाँ रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीबाट राजनीति सुरु गरेका हुन् । युथ इनिसिएटिभको अध्यक्ष त्याग्दै साझा पार्टीमा लागेका उनी केही समय विवेकशील साझा पार्टीको युवा भातृ संगठनको अध्यक्षको जिम्मेवारीमा थिए ।

यसैगरी खनाल भने ओली प्रधानमन्त्री रहेकै बेलादेखि एमालेका लागि काम गर्दै आएका थिए । खनाललाई जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको थियो । तत्कालीन समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले आफूहरूको पार्टी फुटाउन ओलीकै योजनामा नेता यादवको ‘अपहरण’ गरिएको आरोप लगाएका थिए।

खनालले आफू एमालेमा प्रवेश गर्न पाउँदा हर्षविभोर भएको र अध्यक्ष ओलीको शीतल छाहरी पाउने आशा आफूले लिएको बताए। खनालले भने–‘आम नेपालीको अपेक्षा, देश विदेशको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपालीको नारा अघि बढाउने प्रणेताको हातबाट नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा खुसीले हर्षविभोर छु।’

विशेष