News

पल शाह प्रकरणमा अदालतको फैसलाः अनुमानको आधारमा करणी लिनुदिनु भएको भनी कसुर ठहर गर्न मिल्दैन (पूर्णपाठ)

पल शाह प्रकरणमा अदालतको फैसलाः अनुमानको आधारमा करणी लिनुदिनु भएको भनी कसुर ठहर गर्न मिल्दैन (पूर्णपाठ)

अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाई बाल यौन दुरुपयोगको कसुरमा साढे २ वर्ष कैदको फैसला गरिएको जिल्ला अदालत नवलपुरको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। 

पल शाहविरुद्ध एक नाबालिगको जाहेरीपछि गत चैत ३ गते जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो। भदौ २१ गते जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पल शाहलाई बाल यौन दुरुपयोगको कसुरमा साढे २ वर्ष कैद र नाबालिगलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो।

जिल्ला अदालत नवलपुरको फैसलाको पूर्णपाठ आएसँगै शाह पक्षले त्यसविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको बताईएको छ। यस्तै जिल्ला अदालत तनहुँमा पनि तिनै नाबालिगका तर्फबाट दायर भएको मुद्दाको पेशी असोज २६ गतेलाई तोकिएको छ।

पल शाहले बलात्कार मुद्दामा यस कारण पाए सफाइ
बलात्कार भएको भनिएकी बालिका र जाहरेरवालाले प्रहरीमा उजुरी दिएपनि अदालतमा भने इन्कारी बयान दिएका थिए। तर, अदालतले भने अन्य घटनाक्रम र प्रमाणका आधारमा उनलाई पूर्ण निर्दोष नरहेको ठहर गरेको छ। यद्यपी बलात्कारको मुद्दामा सफाइ दिएको थियो।

अदालतले मिसिल बाहिर गएर अनुमानको आधारमा प्रमाण नभए पनि यसो हुन सक्ला भनी निर्णय गर्न नमिल्ने भन्दै फैसलामा भनिएको छ–‘करणीको कसुरका प्रत्यक्षदर्शी भनेका नै पीडक र पीडित नै हुन्। त्यसकारण जबरजस्ती करणीको कसुरको प्रत्येक्ष प्रमाण भनेको पीडित स्वयम् नै रहने र भौतिक सबुदको प्रमाणको रुपमा निजको मौकाको स्वास्थ्य जाँच प्रतिवेदन नै मुख्य रुपमा रहने हुन्छ।’

‘मिसिल संलग्न माथि उल्लिखित आधार र प्रमाणहरुबाट प्रतिवादीले करणीको कसुर गरेको भनि अनुमान गर्न मिल्ने अवस्था देखिँदैन। अदालतले सडकमा उठाइएको आवाज एवं प्रदर्शन र मिडियामा भएको ट्रायललाई हेरेर निर्णयमा पुग्ने होइन। अदालतमा पेश भएका कुनै पनि विवादको निर्णयमा पुग्नको लागि मिसिलमा पेश भएका तथ्य र प्रमाण नै निर्णयको लागि आवश्यक हुन्छ’ फैसलाको पूर्णपाठमा भनिएको छ–‘अझ फौजदारी विवादको हकमा प्रतिवादीमाथि लगाइएको आरोप वादी पक्षबाट शंकारहित तवरबाट पुष्टि गरिएको हुनुपर्छ।’

प्रतिवादीको इन्कारी बयानलाई जाहेरवाला र पीडितको अदालतसमक्षको बकपत्रबाट पुष्टि भइरहेको अवस्थामा प्रतिवादीमाथि लगाइएको अभियोगबाहेक वादी पक्षले शंकारहित तवरबाट करणीको वारदात स्थापित भएको हो भनी अन्य स्वतन्त्र र वस्तुनिष्ठ प्रमाणहरु पेश गर्न नसकेको अदालतको ठहर छ।

प्रतिवादी, पीडित र जाहेरवालाले समेत जाहेरी व्यहोरा खण्डित हुने गरी अदालतमा बकपत्र गरेको, जाहेरवालाले नै खण्डित हुने गरी बकपत्र गरेको, अन्य बयान लिएका व्यक्तिहरुले पनि शाहले जबरजस्ती करणी गरेको भनी भन्न नसकेको अवस्थामा मिसिलभन्दा बाहिर गई अनुमानको आधारमा करणी लिनुदिनु भएको भनी तथ्य र मिसिलमा आधारित नभई प्रतिवादीउपर कसुर ठहर गर्न नमिल्ने फैसलामा उल्लेख छ।

यस्तो छ फैसलाको पूर्णपाठ

विशेष