News

गठबन्धनको त्यान्द्रो समातेनन् भने एमालेको भेलले बगाउँछः ओली

गठबन्धनको त्यान्द्रो समातेनन् भने एमालेको भेलले बगाउँछः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले त्रिशुलीको भेलले बगाएजसरी बगाउने निश्चित भएपछि सत्तारुढ दलहरू गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताएका छन्।

राष्ट्रिय युवा संघ, नेपालको प्रचार भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै नेता ओलीले एमालेकै डरले सत्तारुढ दलहरूले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनको त्यान्द्रो समाउनु परेको बताए। यद्यपी सम्पुर्ण प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको उनको भनाई छ।

‘अनेकथरी प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि प्रमुख पार्टीबाट कमजोर पार्न सकेका छैनन् । अहिले त गठबन्धन बनाएर मात्रै हामीसँग मुकाविला गर्ने कुरा त्यही पनि उनीहरूको धनु कामेको छ एमाले देखेपछि’ ओलीले भने–‘गर्मीमा पनि उनीहरू धेरै जाडोमा मानिसहरू काम्छ नि थरर, त्यसरी कामेका छन् । त्यसैकारण उनीहरूले यो गठबन्धन बनाउनु परेको छ र । यो त्यान्द्रो समातेनन् र छोडे भने यिनीहरू त्रिशुलीको भेलमा पुगेजस्तो हुन्छ । एमालेको भेलले बगाउँछ । त्यसकारण यिनीहरूले गठबन्धन नामको त्यान्द्रो छोड्दैनन् । किनकि एमालेको भेल यस्तो आइराखेको छ । बगाउँछ।’

ओलीले नेपाली पुगेको हरेक ठाउँमा एमाले पुगेको र त्यसले मात्रै मुलुकको समृद्धि र विकासको अभियानलाई अगाडि बढाउन सक्ने दाबी गरे।

उनले आफ्नो पार्टीविरुद्ध भ्रम फैलाउनेहरुमाथि अरिङाल भएर जाई लाग्न पनि निर्देशन दिए। ‘हाम्रा विरुद्ध सञ्चारमाध्यमहरु झुसे बारुलो भएर खनिन हुने, हामी चाहिँ अरिङाल हुन नहुने ?’ उनले भने–‘हाम्राविरुद्ध भ्रम फिजाउने, प्रचारबाजी गर्नेहरुलाई अरिङाल भएर ध्वस्त पार्नैपर्छ ।’

यसअघि आफूले अरिङ्गाल झैं प्रतिकार गर्नु भन्दा अरिङ्गाल लगाउने भनेर कुप्रचार गरिएको भन्दै ओलीले भने, ‘हो हामीमाथिको आक्रमणविरद्ध अरिङ्गाल नै लगाउने हो ।’

ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई दिएको सुरक्षा र गाडी सरकारले खोसेको भन्दै त्यो काम अधिनायकवादी भएको बताए । अधिनायकवादको विरोधमा आफू ५० वर्षअघिको वैंश निकालेर लड्न तयार भएको भन्दै उनले कडा प्रहार गर्न पनि कार्यकर्तालाई निर्देशन दिए ।

विशेष