सप्तरीमा किन १० दिन पनि टिकेनन् सिडिओ नुरहरी खतिवडा
![सप्तरीमा किन १० दिन पनि टिकेनन् सिडिओ नुरहरी खतिवडा](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/09/nurhari-khatiwada1.jpg)
कार्यालयमा हाजिर भएको १० दिन नवित्दै सप्तरीका सिडिओ नुरहरी खतिवडाको सरुवा भएको छ। संखुवासभाबाट सरुवा भई भदौ २७ गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा हाजिर भएका खतिवडालाई असोज ५ गते नै सरुवा गरेर मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा पठाईएको छ।
बुधबार साँझ एकाएक फोन गरेर मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा हाजिर हुन भनेपछि उनी विहिवारै त्यहाँ पुगेर हाजिर भएका छन। खतिवडाको ठाउँमा सप्तरीमा भूपेन्द्र थापालाई पठाइएको छ । ‘सप्तरी जिल्लाको सेवा अवधि असाध्य छोटो रह्यो । जम्मा १० दिन यहाँ काम गर्न पाइयो तर जति गर्न सकियो १० महिनाको भन्दा कम छैन भन्ने मूल्यांकन गरियो’ बिदाईको तस्बिर राख्दै खतिवडाले फेसबुकमा लेखेका छन्, ‘कार्यअवधि लामो वा छोटो हुनुले खासै महत्व राख्दैन । महत्व राख्छ सो अवधिमा के गरियो र कसरी गरियो भन्ने कुराले । यी दुवै पक्षबाट म आफू सन्तुष्ट छु ।’
गृहमन्त्रालयले भदौ २२ गते मात्रै खतिवडासहित दर्जनौं जिल्लाका सिडिओ सरुवा गरेको थियो। यस पटक पनि खतिवडासहित त्यति नै संख्यामा सिडिओको सरुवा गरिएको गृहमन्त्रालय श्रोतले जनाएको छ। गृहले सरुवाको सूची सार्वजनिक नगरी व्यक्तिगत रूपमा पत्र पठाएर उनीहरुलाई तोकिएको ठाउँमा पठाएको स्रोतको दावी छ।
निर्वाचन आयोगले भदौ २० गतेदेखि नै कर्मचारी सरुवा, पदस्थापनादेखि राजनीतिक नियुक्तिसम्मका निर्णय रोक्न निर्देशन दिएपनि सरकारले कर्मचारी सरुवा रोकेको छैन। जिल्लाको शान्ति सुरक्षाको नेतृत्व गर्ने सीडीओ परिवर्तन गरी गठबन्धनले आफू अनुकूलको सीडीओ खटाएर सत्ता स्वार्थमा प्रयोग गर्न थालेको एमालेका नेता÷कार्यकर्ताले बताएका छन।
यसअघि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि महान्यायाधिवक्ता कार्यालयबाट खटिएका सरकारी वकिल समूहका ३० जनामध्ये २८ जना निर्वाचन अधिकृत कांग्रेस निकटलाई छानीछानी पठाइएको भन्दै वामपन्थी कर्मचारी संगठनले असहमति जनाएका थिए ।