News

डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुग्यो, संक्रमितको संख्या २३ हजार नजिक

डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुग्यो, संक्रमितको संख्या २३ हजार नजिक

सरकारले समयमा ध्यान दिन नसक्दा देशभर डेंगुको संक्रमण र मृत्यु हुनेको संख्या निरन्तर वृद्धि भईरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगु फैलिएको छ भने हालसम्म २२ हजार ९८८ जनालाई डेंगु भएको छ ।

यसैगरी डेंगु संक्रमणबाट मर्नेको संख्या २९ पुगेको छ । सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु भएको छ । लुम्बिनी प्रदेशका २ हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगु भएको छ ।

नियन्त्रणमा ढिलाइ भइसकेका कारण संक्रमित र मृत्युको संख्या अझै बढ्नसक्ने भन्दै स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन् । नेपालमा २–३ वर्षको अन्तरालमा डेंगीले प्रकोपको रुप लिने गरेको छ । 

नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएका थिए । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको डेंगुले यो वर्ष महामारीकै रुप लिएको छ । यस वर्ष डेंगी संक्रिमतको केसले ३ वर्षअघिको रेकर्ड तोडिसकेको छ । 

१० जिल्लामा मात्रै १९ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । डेंगीको उच्च जोखिममा रहेका १० जिल्लामध्ये ५ जिल्लामा डेंगीका हजारभन्दा बढी केसहरू पुष्टि भइसकेका छन् । काठमाडौंमा ७ हजार ३८०, ललितपुरमा ५ हजार ५८५, मकवानपुरमा २ हजार १३५, दाङमा २ हजार २७८ र भक्तपुरमा १ हजार ५० केसहरू पुष्टि भएका हुन्।

ईडीसीडीले डेंगुलाई राष्ट्रव्यापी प्रकोप घोषणा गर्न स्वास्थ्य मन्त्रालयसँग पत्राचार गरिसकेको छ । डेंगु संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामीको संख्या पनि अधिक छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन ‘मास’ मा नै डेंगी फैलिसकेको बताउँछन् ।

विशेष