News राजनीति

गठबन्धनका नेतालाई गुरुराजको चेतावनी– कांग्रेसबाट बढी सिट लिँदैमा चुनाव जित्ने ग्यारेन्टी छैन

गठबन्धनका नेतालाई गुरुराजको चेतावनी– कांग्रेसबाट बढी सिट लिँदैमा चुनाव जित्ने ग्यारेन्टी छैन

कांग्रेसको डा. शेखर कोईराला पक्षका नेता गुरुराज घिमिरेले कांग्रेस आन्तरिक रूपमा एक नभई आफनो पक्षमा निर्वाचनमा परिणाम ल्याउन नसक्ने चेतावनी दिएका छन्। बानेश्वरको थापागाउँमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसले बढी सिट लिँदैमा र कांग्रेसबाट बढी संसदीय क्षेत्र लिँदैमा निर्वाचन क्षेत्र जित्ने ग्यारेन्टी नहुने बताए।

‘गठबन्धनका अरू नेतालाई पनि केही कुरा भन्नु छ। नेपाली कांग्रेसबाट बढीभन्दा बढी सिट लिँदैमा र कांग्रेसबाट बढीभन्दा बढी संसदीय क्षेत्र लिँदैमा निर्वाचन क्षेत्र जित्ने ग्यारेन्टी तपाईंहरूसँग छैन।’ उनले भने –‘हेक्का राख्नोस् बालुवाटारमा बसेर हिसाब मिलाउँदैमा, आफ्नो सन्देश पठाउँदैमा र घन्टौँ घण्टा बस्दैमा निर्वाचनमा मागे जति सिट पनि पाइँदैन र पाए जति सिट जितिँदैन।’

नेपाली कांग्रेसको आन्तरिक आयाम नमिलीकन टाउको जोडेर परिणाम प्राप्त गर्छु भनेर नसोच्न उनले चेतावनी दिए। सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष  माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीको नाम नै लिएर यसमा सचेत रहन सुझाए।

उनले कांग्रेसभित्र अन्यायविरुद्ध विनम्रताको चरणबाट अब आक्रोशको चरण शुरु भएको भन्दै नेतृत्वले न्याय नगरे तेस्रो चरणमा विद्रोह हुने बताए। घिमिरेले समानुपातिकको बन्द सूची तत्काल सच्याउन आग्रह गरे।

देउवाले नै कांग्रेसमा ४० प्रतिशतको सुरुवात गरेको भन्दै आफूहरूले देउवाकै पथ पछ्याएको उनले बताए । कार्यकर्ताको न्यायका लागि आफू बलीमा चढ्न तयार भएको भन्दै उनले अहिलेसम्म वडा सदस्यको पनि टिकट नपाएको र अब पनि टिकटको नाममा दास नबन्ने बताए ।

राजाविरुद्ध छाती खोलेर गणतन्त्रको शंखघोष गर्ने आफूहरु रहेको भन्दै घिमिरेले प्रचण्डले जस्तो जंगलबाट चौकी नहानेको बताए ।

विशेष