विज्ञानको आडमा हिन्दु धर्ममाथि बाबुरामको अर्को आक्रमण !
![विज्ञानको आडमा हिन्दु धर्ममाथि बाबुरामको अर्को आक्रमण !](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/09/baburam.jpg)
विज्ञानको आडमा पटक–पटक हिन्दु धर्मको अपमान गर्दै आएका पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले फेरी अर्को पटक धर्ममाथि आक्रमण गरेका छन्।
भट्टराईले नेपाली समाजले विज्ञानको महत्व बुझ्न नसकेको बताउँदै हिन्दु धर्ममाथि प्रहार गरेका छन्। आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले विज्ञानको विकास अध्ययनमा अघि बढ्नुपर्ने समाज रुढीवादी संस्कारमा अल्झिएको भन्दै आलोचना गरे।
असोज १ गतेलाई आफूले विज्ञान दिवस मनाउने भनेर सुरुआत गरे पनि अहिले नागपञ्चमीका नाममा सर्प पूजा गर्न लागेको भन्दै आक्रोश पोखे। उनले नाग पञ्चमीका नाममा सर्प पुज्ने गरिएको तर विज्ञान दिवस मनाउन छाडिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
‘अध्ययन अनुसन्धान वैज्ञानिक ढंगले गर्ने हो भने विज्ञान र प्रविधिलाई ध्यान दिनुपर्छ भनेर असोज १ गतेलाई विज्ञान दिवस भनेर शुरुआत गरेको थिएँ, तर मलाई दुःख लाग्छ, त्यो विज्ञान दिवस कसैले पनि सम्झिँदैनन् र कसैले पनि मनाउँदैनन्’ उनले भने–‘नागपञ्चमी बरु सर्पको फोटो टास्ने दिनलाई धुमधाम मनाउँछौं पूजा गर्छौं। तर, विज्ञानको महत्व के हो भन्नेमा अहिले पनि हाम्रो ध्यान गएको छैन।’
हिन्दु धर्मका संस्कार र परम्परा विरुद्ध पटक पटक अभिब्यक्ति दिदै आएका भट्टराई अन्य धर्मका परम्परा र रिवाजका विषयमा भने बोल्ने गरेका छैनन्। यसअघि ०७८ साउनमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दुध चढाउँदै गरेको विषयमा समेत भट्टराईले आलोचना गरेका थिए।
योगी आदित्यनाथले खोलामा दुध चढाउँदै गरेको फोटो सामाजिक संजालमा राखेपछि भट्टराईले ट्वीटरमा ‘मेरा भारतीय सहपाठीले प्रसारण गरेको’ भन्दै ट्वीटरमै आलोचना गरेका थिए।
यो पनि,