News अपराध सुरक्षा

समुदाय नै मिलेर माझी महिलाको कुटिकुटी हत्या, बोक्सी लागेको आरोप

समुदाय नै मिलेर माझी महिलाको कुटिकुटी हत्या, बोक्सी लागेको आरोप

बोक्सी लागेर सोह्र श्राद्धमा पितृ खुसी पार्न नदिएको भन्दै रामेछापको खाँडादेवी गाउँपालिका–३, भिरापानी (सित्खा) मा माझी समुदायकी एक महिलालाई कुटेर मारिएको छ। कुटपिटकै कारण मरणासन्न अवस्थामा पुगेकी मृतककी आमालाई भने प्रहरीले स्थानीयबासीको सहयोगमा उद्वार गरेको छ।

कुटपिटका कारण ५५ वर्षीया बिबी माझीको मृत्यु भएको हो। उनलाई यसअघि पनि बोक्सीको आरोपमा अपमानित गरिदै आएको थियो। कब्जामा लिएर कुटपिट गर्दा उनकी आमा ७० वर्षीया सुनमाया गम्भिर घाईते भएकी छिन्। घट्नामा संलग्न भएको आरोपमा प्रहरीले २२ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार घटनास्थलबाट १८ जना र सोमवार थप ४ जना पक्राउ परेका हुन।

पक्राउ परेकाहरुले घटनाका बारेमा आफूलाई थाहा नभएको बताउँदै ‘पितृले कुटेर मारेको होला, हामीले हैन,’ भन्दै जवाफ दिने गरेका छन्। शरीरमा पितृ आएको बेला केही थाहा नहुने र घटनाबारे पनि थाहा नभएको उनीहरुको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङका अनुसार माझी समुदायले सोह्रश्राद्धलाई सबैभन्दा ठूलो चाडका रुपमा मनाउँछन्। सोह्रश्राद्ध लागेपछि घाटमा गएर पितृ बोलाउने चलन छ। पितृ बोलाउँदा कोही काम्यो भने उसैको सरीरमा पितृ प्रवेश गरेको मानिन्छ। त्यसपछि घर आएर आदर सत्कारसहित एक दिन पालेर घाटमै लगेर पितृ विदा गर्ने गरिन्छ। पितृ विदा गरेपछि काम्ने पनि बन्द हुने उनीहरुको मान्यता छ।

तर, यस वर्ष शनिबार सोह्रश्राद्ध सकिदा पनि जिउमा पितृ बोकेकाहरु काम्न छोडेनन्। त्यसपछि पितृ खुसी नभएको र बिबी माझी त्यसको जिम्मेवार रहेको भन्दै काम्नेसहितका युवा युवतीहरु भेला भएर उनको घरमै गएर कुटेको प्रहरीको भनाई छ। 

आमाछोरीमात्र रहेको घरमा काम्दै पुगेका युवायुवतीले बिबीलाई अक्षताले हान्दै कुटे । त्यही बेलामा एउटा बिरालो आइपुगेपछि त्यसलाई पनि काटेर आगोमा पोलेको स्थानीयले बताएका छन्। कुटपिटमा संलग्न भएकाहरुका अनुसार बिबीलाई कुटपिट गर्न थालेपछि बोक्सी बिरालोमा सरेको र बिरालो काटेपछि बिबी पनि मरेकी हुन।

बिबी मरेपछि उनीहरुले सुनमायालाई पनि आँगनमा निकालेर कुटे। आमा छोरीकै हत्या हुन लागेपछि स्थानीयले प्रहरीलाई खबर गरे। सुरुमा उद्वारका लागि पुगेको प्रहरीलाई समेत उनीहरुले हावाकावा पारेको र स्थानीयको प्रयासमा वृद्धाको उद्वार गरिएको प्रहरीले जनाएको छ। 

हत्या बोक्सी

विशेष