News

५० हजार भत्ता प्रकरणले राष्ट्रिय गीतकै अपमान, गीत महंगो परेको टिप्पणी

५० हजार भत्ता प्रकरणले राष्ट्रिय गीतकै अपमान, गीत महंगो परेको टिप्पणी

सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक ५० हजार भत्ता उपलब्ध गराउने निर्णय गरेपछि त्यसको ब्यापक आलोचना भईरहेको छ। असोज ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि दिदै आएको २५ हजार रुपैयाँ अपुग भएको भन्दै माईलालाई मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो।

सोही वैठकको अर्को निर्णयसँग तुलना गरेर पनि अहिले माईलालाई दिएको भत्ताका विषयमा आलोचना भईरहेको छ। सोही वैठकले संस्कतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि भन्दै एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको थियो। ‘शताब्दि पुरुषलाई नर्स, माईलालाई मासिक ५० हजार रुपैयाँ?’ भन्दै प्रश्न उठाईएको छ।

यसअघि ०७१ मंसिर ४ गते वसेको मन्त्रिपरिषदको बैठकले माइलालाई मासिक २५ हजार रकम दिने निर्णय गरेको थियो। माइलाले आफूलाई जीवन धान्न गाह्रो भएको र सरकारले केही नगरेको भन्दै टेलिभिजनको अन्तरवार्तामा आँसु झारेपछि सरकारले उनलाई मासिक २५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । सरकारको यो निर्णयको पनि आलोचना भएको थियो।

‘सरकारले आफैं दिनु बेग्लै कुरा हो, तर उनी सार्वजनिक भाषण गरेर माग्दै हिँडे, कतिपय ठाउँमा निवेदन पनि दिए,’ साहित्यकार मोदनाथ प्रश्रितले भनेका थिए–‘राष्ट्रिय स्वाभिमानको गीत लेख्ने मान्छेले आफू पनि स्वाभिमानमा बस्न सक्नुपर्छ । मलाई उनको यो कार्य राम्रो लागेन ।’

माइलाले राज्यबाट केही पाइएन भन्दै गुनासो गर्नु बेकार रहेको भन्दै प्रश्रितले उनले लेखेको गीतलाई राष्ट्रिय गानको मान्यता दिनु नै राज्यले उनीमाथि गरेको सबैभन्दा ठूलो सम्मान हो भनेका थिए।

त्यसमाथि सरकारले ‘सहज जिवन यापनका लागि’ भन्दै भत्ता रकम दोब्बर गर्ने निर्णय गरेपछि सामाजिक सञ्चालमा समेत यस बारेमा टिकाटिप्पणी सुरु भएका छन्। एक जना सामाजिक संजाल प्रयोगकर्ताले लेखेका छन्– ‘सरकारले व्याकुल माइलाजीलाई मासिक ५० हजार भत्ता दिने निर्णय गरेछ । सोसल मिडियामा ‘एउटा गित लेखेर जिवनभर भत्ता’ भनेर माइलाजीको अपमान गरेको देखियो । उसो त सरकारले घोषणा गरेको ‘भत्ता’ पनि उनिमाथीको अपमान हो । उनी भत्ता होइन रोयल्टीका हकदार छन् ।’

यसैगरी विमल पोखरेल नामका ट्वीटर प्रयोगकर्ताले ‘राष्ट्रगान निकै महङ्गो भयो । सुरुमै ५ लाख दिइएको हो । एकपटक पारिश्रमिक दिएपछि एउटै रचनाको जिन्दगीभर भत्ता दिइनु भ्रष्टाचार होइन, महाभ्रष्टाचार हो । एउटा गीत लेखेर जिन्दगीभर देशको ढुकुटीसँग सौदाबाजी गर्ने हो भने त्यतिबेला दोस्रो भएको गीतलाई राष्ट्रगान बनाए हुन्छ । लुट रोकौं !’ भन्दै भत्ताको विरोध गरेका छन्।

नित्यानन्द नामका ट्वीटर प्रयोगकर्ताले ‘सयौँ थुङ्गा...’ मेरा लागी कहिल्यै राष्ट्रगान रहेन। यस्तो गाना जो सुन्दा मनमा देश आओस्, शरीरमा काँडा उम्रियोस्, जो सुनिरहन मन होस्, जहाँ आफूलाई पाइयोस्, देश भेटियोस्। धेरैका लागी यो राष्ट्रगान उत्कृष्ट होला। हुन सक्छ र पाउँछ। तर म चैँ रातो र चन्द्रमा जतिको भावना अरुमा भेटाउन्नँ।’ भन्दै लेखेका छन। उनको यो कथनमा नेकपा एमालेका नेता गोकुल बास्कोटाले ‘हो तर यहा त्यसो भन्दा प्रतिगामी भईन्छ है होस गर।’ भन्दै प्रतिक्रिया दिएका छन्।

अझ लाल बोगटी नामका ट्वीटर प्रयोगकर्ताले त यो राष्ट्रिय गीत नै प्रतिगामी रहेको आरोप लगाएका छन्। उनी लेख्छन–‘यो राष्ट्रिय गान नै राष्ट्रघाती छ, नेपाल मेची र महाकालीसम्म मात्रै भन्या छ , महाकाली पारिका लिपुलेक र दोधारा चादनी गाउँ पनि नेपाल मै पर्छन।’

यतिमात्र होईन, माईलाको मासिक भत्ता दोब्बर बनाउने सरकारको निर्णय सार्वजनिक भएसँगै सामाजिक संजालमा त्यसको आलोचना बढिरहेको छ।

राष्ट्रिय गान व्याकुल माइला प्रदीपकुमार राई ५० हजार भत्ता

विशेष