News

मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो, ५ नेपालीसहित आरोहीहरु बेपत्ता 

मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो, ५ नेपालीसहित आरोहीहरु बेपत्ता 

गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । हिमपहिरोमा मनास्लु हिमाल आरोहणका लागि गएका पाँच जना नेपालीसहित अन्य आरोही बेपत्ता भएका छन्।

चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा बिहान ११ बजेको समयमा खसेको हिमपहिरोमा पुरिएर उनीहरु बेपत्ता भएका हुन्। हिमपहिरोमा बेपत्ता हुने नेपाली आरोहीहरुमा दावा शेर्पा, फुरिता शेर्पा, निग्मा दोर्जे शेर्पा, लाक्पा तामाङ र जीतबहादुर शेर्पा छन्। 

जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालका अनुसार मानवीय क्षति पुष्टि भएको छैन। उनीहरु सबैजना आरोहण दलका सहयोगीका रुपमा त्यहाँ गएका थिए। बेपत्ता आरोहीहरुको खोजीका लागि दुइटा हेलिकोप्टर त्यसतर्फ परिचालन गरिएको खनालले बताएका छन्।

बेपत्ता आरोहीको खोजीका लागि सिम्रिक र एभरेस्टका हेलिकोप्टर पठाइएको थियो। मौसम खराबीका कारण मनास्लुको ३ नम्बर ४ नम्बर बेस क्याम्पका लागि पठाइएका हेलिकोप्टर अवतरण गर्न नसकी फर्किएका छन्। 

स्रोतका अनुसार ३–४ वटा ट्रेकिङ कम्पनीको टोली आधार शिविर पुगेको छ । मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा हिमपहिरो गएको हो। यस सिजनमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि अनुमति दिइएको छ। 

आधार शिविरमा रहेका मिङ्मा शेर्पाले हिमपहिरो आएको तर कति शक्तिशाली हो भन्ने थाहा भइनसकेको बताए ।  शरद याम मनास्लु र अमादब्बलम हिमाल आरोहणका लागि उपयुक्त मानिन्छ। 

विशेष