काठमाण्डौं २ बाट कुलमानलाई चुनाव लडाउने यस्तो छ प्रचण्डको रणनीति
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिन अघि आगामी संघ र प्रदेश सभा निर्वाचनमा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहको भन्दा चर्को सेन्टिमेन्ट ल्याउने मान्छे खोजी भइरहेको बताउँदा धेरैले चालि बजाए। तर, यो कुरा सुन्ने अधिकांशले यसलाई गहन रुपमा लिएनन्।
जसलाई उठाएर निर्वाचन जितिन्छ उनीहरुलाई नै उठाउनुपर्ने बताएका दाहालले माओवादीसँग शक्ति भएपनि विकेन्द्रिकृत रहेको भन्दै चुनावमा नयाँ–नयाँ उम्मेदवार ल्याउने तयारी भइरहेको बताएका जानकारी दिएका थिए।
‘हामीले पनि बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दैछौं। त्यही सेन्टिमेन्ट ल्याएर, तपाईंहरूले सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो। त्यस्तो मान्छे गुटबन्दीमा पनि छैन, कहीँ पनि छैन, यो गुट र त्यो गुट भन्ने पनि छैन’ गत भदौ २२ गते उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै उनले भनेका थिए–‘हामी सबैले साथ दिन सक्ने मान्छे, हो यो त ठीक छ भन्ने मान्छे उम्मेदवार भए भने काठमाडौंमा हामीले २–३ सिट जित्न सक्छौं। २–३ सिट जित्यौं भने हामी काठमाडौंमा फेरि शक्तिशाली बन्छौं।’
कहिले दोस्रो जनयुद्ध गर्ने त कहिले सरकारमा वसेर सडक आन्दोलन गर्ने जस्ता टापटिपे कुरा गरेर सेन्टिमेन्ट बटुल्ने दाहाले ‘बालेन्द्र भन्दा चर्चित मान्छे ल्याउने’ बताएपछि धेरैले यसमा खासै चासो दिएनन्। तर, निर्वाचन नजिकिदै जाँदा त्यसवेला दाहालले बोलेको कुरा सत्य सावित हुने तयारीमा छ।
लोडसेडिङको अन्त्य गरेर लोकप्रिय भएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई माओवादीले काठमाडौं– २ मा उम्मेदवार बनाउने तयारी गरिरहेको पार्टी स्रोतले जनाएको छ।
एकातिर काठमाडौंमा पार्टीको खस्किँदो अवस्था, अर्कोतिर कुलमान घिसिङप्रति जनताको विश्वासका कारण जनमत बढ्न सक्ने बुझाइ दाहालमा रहेको नेताहरु बताउँछन्। घिसिङलाई काठमाडौंको जुन ठाउँबाट उठाए पनि चुनाव जित्ने उनको विश्लेषण छ।
माओवादी केन्द्रले २०६४ सालपछि काठमाडौंका कुनै पनि क्षेत्रमा निर्वाचन जित्न सकेको छैन। त्यो बेला काठमाडौंका दस क्षेत्रमध्ये माओवादीले चार क्षेत्रमा निर्वाचन जितेको थियो। घिसिङलाई चुनावमा उठाउन पाए उनकै कारण पनि अन्य २÷३ वटा क्षेत्रमा जित्न सकिने माओवादी नेताहरुको आन्तरिक मुल्यांकन छ।
घिसिङ निकट स्रोतले भने त्यसबारे कुनै सोच नबनाएको बताएको छ। धेरै दलहरूले पहिलेदेखि नै राजनीतिमा आउनुपर्छ, आफ्नो पार्टीबाट चुनाव लड्नुपर्छ भनेर अनुरोध गरेको तर उनलेको भने त्यो सोच नभएको स्रोतको भनाई छ। माओपादीले केही समय अगाडि घिसिङको फोटो राखेर चुनावी पोष्टरसमेत सार्वजनिक गरेको थियो। ब्यापक आलोचना कुलमानकै असहमतिका कारण पछि उनको फोटो पोस्टरबाट हटाईएको थियो।
यद्यपी काठमाण्डौ २ मा प्रत्यक्ष निर्वाचनका लागि पार्टीले भने पूर्वसभामुख ओनसरी घर्तीको नाम सिफारिस गरेको छ। प्रत्यक्ष निर्वाचन लड्ने चाहना राखेकी घर्तीले आफु काठमाडौं–२ बााटै लड्ने बताएकी छिन्।
०६४ र ०७४ मा समानुपातिक सांसद बनेकी उनी ०७० मा रोल्पा–२ बाट निर्वाचित भएकी थिईन। रोल्पामा अहिले एउटा मात्रै क्षेत्र भएकाले उनका पति तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उम्मेदवार बन्ने निश्चित छ।
आफ्नो निर्वाचन क्षेत्र नभएकाले घर्तीले काठमाडौं–२ मा आँखा गाडेकी छिन्।
यो पनि,
पुष्पकमल दाहाल कुलमान घिसिङ