News अपराध सुरक्षा

एसएसबीका प्रमुख थाओसेन काठमाण्डौंमा, वार्षिक समन्वय बैठकमा भाग लिने

एसएसबीका प्रमुख थाओसेन काठमाण्डौंमा, वार्षिक समन्वय बैठकमा भाग लिने

भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोय लाल थाओसेन मंगलवार नेपाल आईपुगेका छन् । सशस्त्र प्रहरी र एसएसबीबीच आयोजना हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन उनी नेपाल आएका हुन् ।

बैठकमा सीमा सुरक्षा रणनीतिका साथै सीमा अपराध नियन्त्रण, एपीएफ र एसएसबीबीच सूचना आदानप्रदान लगायत अन्तरदेशीय सीमा सुरक्षा लागयतका विषयमा छलफल हुने बताइएको छ ।

आजदेखि सुरु हुने बैठक १३ गतेसम्म चल्नेछ । नेपाल र भारतका सीमा सुरक्षा बलबीच छैठौँ बैठक हुन लागेको हो । यसअघि सन् २०२१ को अगष्टमा भारतको नयाँ दिल्लीमा भएको पाँचौँ बैठकमा तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सहभागी भएका थिए । 

आजदेखी सुरु बैठकमा नेपालका तर्फबाट एपीएफका महानिरीक्षक राजु अर्यालले टोलीको नेतृत्व गर्ने छन् भने एसएसबीका प्रमुख थाओसेनले भारतीय टोलीको नेतृत्व गर्नेछन्। यो बैठक यसअघि असोज ५ देखि ७ गतेसम्मका लागि निर्धारित थियो।

तर, अन्तिम अवस्थामा भारतीय पक्षले बैठक ११ देखि १३ गतेसम्मका लागि सार्न आग्रह गरेको थियो। बैठकमा अघिल्लो बैठकले गरेका निर्णयको प्रगति समीक्षा र भावी कार्ययोजनाबारे छलफल  हुनेछ। 

नेपाल र भारतका सीमा सुरक्षा बलबीच सहकार्य बढाउन र सीमा सुरक्षाका मुद्दामा छलफल गर्ने उदेश्यले सन् २०१२ देखि सीमा सुरक्षा बलका प्रमुखको तहमा द्विपक्षीय बैठक आयोजना गर्न थालिएको थियो। सन् २०१२ यता देशमा त्यसखालको बैठक आलोपालो आयोजना गरिँदै आएको छ। 

नेपालतर्फ सशस्त्र प्रहरी बल र भारतका तर्फबाट एसएसबीका जवान नेपाल र भुटानसँगको सीमा क्षेत्रमा खटिने गरेका छन्। नेपाल र भारतबीच १८१८ किलोमिटर लामो खुला सीमा छ। अन्तरदेशीय अपराध, साना तथा मझौला हतियारको कारोबार, तेश्रो देशका नागरिकको अवैध प्रवेश, मानवतस्करी, चोरीपैठारी, जाली नोट ओसारपसार, अवैध वस्तुको व्यापार र लागुऔषध ओसारपसारसँग सम्बन्धित घटना नियन्त्रण गर्न यो बैठक महत्वपूर्ण हुने जनाईएको छ।

सन् २०१८ मा नयाँ दिल्लीमा भएको दुई देशका सीमा प्रहरी बलको बैठकमा सीमामा खटिने प्रहरी जवानलाई तालिम दिने र उनीहरुलाई जनतामैत्री बनाउने सहमति भएको थियो। भारतीय प्रहरी जवानबाट सीमा वारपार गर्ने नेपाली नागरिकमाथि दुर्ब्यवहारका घटना रोक्न उक्त सहमति भएको थियो।  
तर, ०७८ असारमा भारतीय एसएसबीका जवानले तुइन काटिदिँदा महाकाली नदी तर्दै गरेका नेपालका जयसिंह धामीको मृत्यु भएको थियो। उक्त विषयमा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएर अनुसन्धान गर्न माग गरे पनि भारतले त्यसलाई कुनै चासो दिएन।

नेपाल आएका एसएसबीका प्रमुख थाओसेनलाई गत जुनमा भारत सरकारले उक्त पदमा नियुक्त गरेको थियो। इन्डियन पुलिस सर्भिसका वरिष्ठ अधिकृत थाओसेन २१ औँ एसएसबी प्रमुख हुन्। उनी सन् १९८८ मा सेवामा प्रवेश गरेका थिए।

विशेष