News बैंकिङ

रानीघाटमा नबिल बैंकले सुरु गर्यो पहिलो शाखारहित बैंकिङ सेवा

रानीघाटमा नबिल बैंकले सुरु गर्यो पहिलो शाखारहित बैंकिङ सेवा

नबिल बैंकले सुर्खेतको बराहताल गाँउपालिका–२, रानीघाटमा पहिलो शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ।

गाँउपालिकाका अध्यक्ष भिम बहादुर भण्डारी तथा नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रुपमा एकैसाथ शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका छन्।

प्रतिनिधि मनोज कुमार थापालाई बिएलबि मेसिन र प्रमाण पत्र हस्तान्तरण गरेर शाखारहित बैंकिङ सेवाको सुरुवात गरिएको छ।

भण्डारीले शाखारहित बैंकिङ सेवाको लागि धन्यवाद ज्ञापन गर्दै कुनै पनि क्षेत्रको विकासको लागि वित्तीय पहुँच मुख्य आधारशिला भएको र यसका लागि गाँउपालिका बैंकसँग हरदम हातेमालो गर्ने बताए।

यसैगरी नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले नबिल बैंकले बराहताल गाँउपालिकामा बैंकको पहिलो शाखारहित बैंकिङ सेवा सुरुवात गर्न पाउदा खुसी लागेको बताए। नबिल बैंक देशको हरेक ग्रामीण भेगमा वित्तीय पहुँच पुर्याउन हरदम तत्पर रहेको उनको भनाई छ।

नबिल बैंकको शाखारहित बैंकिङ सेवा मार्फत् खाता खोल्न, खातामा नगद जम्मा तथा भुक्तानी गर्न, रकमान्तर गर्न, ग्राहकको खातामा रहेको रकमको सोधपुछ साथै कारोबारको संक्षिप्त विवरण हेर्न, विप्रेषण भुक्तानी गर्न, कर्जा रकम भुक्तानी गर्न तथा किस्ता रकम जम्मा गर्न साथै विभिन्न सेवाहरुको भुक्तानी गर्न सकिनेछ।

नबिल बैंकले दिगो बैंकिङ्ग कार्यक्रम अन्तर्गत देशका विभिन्न ठाउँहरुमा वित्तीय पहुँच पुर्याउने र डिजिटाइजेशनलाई बढावा दिने उद्देश्यले शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो। यसका साथै नबिल बैंकले वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा डिजिटल बंैकिङ तथा वित्तीय पहुच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। 

नेपाल सरकारले अबलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन नबिलले दिगो बैंकिङको सुरुवात गरेको हो। सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ बैंकले हाल १०० शाखामा विस्तार गरेको छ। 

नबिल बै‌‌क

विशेष