News

अष्ट्रेलियामा पनि हिमानीलाई देशकै चिन्ताः राजनीतिक अस्थिरताले देश जटिल परिस्थितिमा छ

अष्ट्रेलियामा पनि हिमानीलाई देशकै चिन्ताः राजनीतिक अस्थिरताले देश जटिल परिस्थितिमा छ

हिमानी ट्रस्टको कार्यक्रममा सहभागि हुन अष्ट्रेलियामा रहँदा समेत पूर्वयुवराज्ञी हिमानी शाहले देशको चिन्ता गरेकी छिन्। दशैंको अवुरमा सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै उनले ‘देश निर्माणमा एकजुट भएर लाग्न ढिला त भइसकेको छैन?’ भन्दै प्रश्न गरेकी छिन् ।

सामान्यतया राजनीतिक अभिव्यक्ति नदिने शाहले यस पटक भने राजनीतिक विषय वस्तु समेटेर राजनीतिक अस्थिरताले देशले जटिल परिस्थिति भोगिरहेको बताएकी छिन्। 

‘मुटुभरी देशको माया हुँदाहुँदै पनि छातीमा देशको माया सजिए तापनि विदेशी कर्मभूमिमा बसेर पसिना भोग्नुपर्ने तपाईं हाम्रो बाध्यता हो । जन्मभूमिलाई कर्मभूमि बनाउन नसक्नु धेरै कारण हुन सक्दछ । अनि थोरैका रहर र धेरैको बाध्यता हुन सक्दछ’ उनले भनेकी छिन्–‘जन्मभूमि नेपाल, यहाँको माटोमा मिठो सुगन्ध छ । सौन्दर्य छ, मौलिक संस्कृति छ, अनि आफ्नै अस्तित्व र प्रतिष्ठा छ । आफ्नै भाषा, धर्म, संस्कृति, प्राकृतिक सभ्यता, शिष्टता र पहिचान छ । विविधतामा एकता भएको हाम्रो देश नेपालले अहिले अस्थिर राजनीतिक परिस्थितिको सामना गरिरहेको छ ।’

गौरवशाली वीरहरुको, सगरमाथाको अनि गौतम बुद्धको देश नेपाल आज अनेकौं विषम र जटिल परिस्थितिमा फँसेको हामीमाझ स्पष्ट छ भन्दै उनले प्रश्न गरेकी छिन–‘हामीले नगरे कसले गर्ने ? र अहिले नगरे कहिले गर्ने ?’

देशलाई कर्मठ जनशक्तिको आवश्यकता रहेको पनि उनले जनाएकी छिन्। ‘अब विदेशमा पढेको ज्ञान र सिकेको सीप आफ्नै देशमा खर्चने बेला आएको छ । आज सबै एकजुट भएर हातेमालो गर्दै देश निर्माणमा लाग्न ढिला त भइसकेको छैन ? भन्ने आह्वानका साथ सबैलाई सोच्ने आग्रह गर्दछु ।’ उनले भनेकी छिन्।

उनले अष्ट्रेलिया र अमेरिकामा रहेका नेपालीलाई वडादसैंको अवसरमा शुभकामना पनि दिएकी छिन्।

http://

 

विशेष