सल्यानको कपुरकोटमा जीप दुर्घटना, मृतक ८ जनाकै सनाखत
![सल्यानको कपुरकोटमा जीप दुर्घटना, मृतक ८ जनाकै सनाखत](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/09/accident-5c47a.jpg)
सल्यानको कपुरकोटमा जीप दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। मृत्यु भएका सात जना कपुरकोट गाउँपालिका–६ जलबाङका र एक जना रिमका रहेका छन् । मृत्यु हुनेमा सात जना पुरुष र एक जना महिला रहेका छन् ।
मृत्यु हुनेमा कपुरकोट गाउँपालिका–६ जलबाँङका २१ वर्षीय चालक जीतबहादुर बोहोरा, ३७ वर्षीय धर्मा वली, ४० वर्षीय टोपबहादुर ओली, ११ वर्षीय बसन्त वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र ३५ वर्षीय ललित वली छन।
उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको हो। बाँकेको ढकेरीबाट बिहेको भोज खाएर फर्कंदै गर्दा रा१ज ५६३ नम्बरको जीप सल्यान कपुरकोट–३ मुलपानीमा बिहान ३ बजे दुर्घटना भएको थियो ।
दुर्घटनामा कपुरकोट गाउँपालिका–६ जलबाँङका ३५ वर्षीय तिलक वली गम्भिर घाइते भएका छन् । उनको उपचार दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले मृत्यु भएका सबैको पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउन थालिएको जानकारी दिए । उनका अनुसार जीप सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो ।