News

स्वस्ती वाचन र शंखघण्ट बजाएर रवीन्द्र मिश्र समूह र राप्रपाबीच एकता

स्वस्ती वाचन र शंखघण्ट बजाएर रवीन्द्र मिश्र समूह र राप्रपाबीच एकता

विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समूह र राष्ट्रिय प्रजातन्त्र पार्वीबीच ‘बटुकहरुबाट स्वस्ती वाचन र शंख र घण्ट बजाएर’ एकता भएको छ । बुधबार काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा घोषणापत्रमा हस्ताक्षर गरेर उनीहरु एक भएका हुन।

सम्झौता अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् भने मिश्रसँगै आएका अरु नेताहरुको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन हुने छ। यो काम एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउनेछन् ।

त्यस्तै प्रदेश र अन्य तहको समितिको समायोजन गर्नका लागि ४ सदस्यीय कार्यदल बनाइएको छ । एकता घोषणा कार्यक्रममा राप्रपा नेताहरुसँगै मिश्रले पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेका थिए ।

यसअघि सोमबार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए भने जेठ ११ गते विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका थिए । संघीयता र धर्मनिरपेक्षतामाथि जनमतसंग्रहको माग गर्दै आएका मिश्र पछिल्लो समय राजतन्त्र पुनःस्थापनाको पक्षमा खुलेका छन् ।

राप्रपासँग एकताका लागि पार्टीभित्र लामो समयदेखि बहस चलाइरहेका मिश्रले सहअध्यक्षको दाबी गर्दै आएका थिए । ८ जनासम्म उपाध्यक्ष बनाउन सक्ने राप्रपामा हाल ६ उपाध्यक्ष छन् । 

मिश्र काठमाडौं–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा छन् । ०७४ सालको चुनावमा यही क्षेत्रमा विवेकशील साझा पार्टीका तर्फबाट उम्मेदवार भएको मिश्र नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग ८१८ मतले पराजित भएका थिए । उनले १० हजार १ सय १८ मत पाएका थिए । 

काठमाडौं–१ मा अहिले विवेकशील साझाका पूर्वनेता पुकार बमले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । मिश्रले नेकपा एमाले समेतको समर्थन जुटाएर चुनाव जित्ने योजना बनाएको श्रोतको दावी छ।

मिश्रले भदौको पहिलो साता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

रवीन्द्र मिश्र राप्रपा

विशेष