News राजनीति

जित सुनिश्चित नदेखेपछि चितवन छोड्दै प्रचण्ड, गोरखा २ मा नजर

जित सुनिश्चित नदेखेपछि चितवन छोड्दै प्रचण्ड, गोरखा २ मा नजर

तुलनात्मक रुपमा जित्न सजिलो हुने देखेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफनो क्षेत्र छोडेर बाबुराम भट्टराईको क्षेत्रमा आँखा लगाउन थालेका छन्। जित निश्चित भएपनि परिश्रम धेरै गर्नु पर्ने देखेपछि चितवन ३ छाडेर दाहाल गोरखा– २ बाट प्रतिनिधि सभा चुनाव लड्ने तयारीमा छन्।

स्रोतका अनुसार यसअघि गोरखा–२ बाट चुनाव जित्दै आएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पनि मैदान खाली गर्ने आश्वासन दिएपछि दाहाल गोरखा हानिन लागेका हुन। डा भट्टराईले आफू कुनैपनि क्षेत्रबाट प्रत्यक्ष चुनाव नलड्ने बताएका कारण पनि दाहाल गोरखाका लागि लालायित देखिएको श्रोतको दावी छ।

०७४ सालको चुनावमा गोरखा–२ मा तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार बनेका माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्य रहेका कारण पनि बाबुराम नहुँदा दाहाललाई उक्त क्षेत्रमा जान सहज छ।

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गोरखा–२ अन्तर्गत पर्ने वडाहरुमा अध्यक्षका उम्मेदवारहरुले पाएको मत एकीकृत गर्दा माओवादी बलियो देखिन्छ। माओवादीले २२ हजार २५०, कांग्रेसले २१ हजार ५७८, एमालेले ७ हजार ४८४, जसपाले ७ हजार ५०४ र अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारले २ हजार ५२० मत पाएका थिए।

दाहालले चितवन–३ को तुलनामा गोरखा–२ सुरक्षित हुने विषयमा निकटस्थहरुसँग छलफल समेत गरिरहेको जनाईएको छ। पार्टीको आन्तरिक सर्वेक्षणले पनि दाहालका लागि चितवन–३ सुरक्षित नरहेको संकेत गरेको छ। चितवन–३ मा जित्न समस्या नभएपनि मेहनत बढी गर्नुपर्ने भएकाले अन्य क्षेत्रमा पनि विकल्पका रुपमा छलफल भईरहेको दाहाल निकट नेताहरुले बताएका छन्। 

०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेलाई ९ हजारभन्दा बढी मतान्तरले हराउँदै दाहाल निर्वाचित भएका थिए। तत्कालिन वन तथा भूसंरक्षण मन्त्री समेत रहेका पाण्डेले ३८ हजार ९३५ मत पाउँदा दाहालले ४८ हजार २७६ मत पाएका थिए।

पुष्पकमल दाहाल

विशेष