News

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा नागरिकता विधेयकको विरोध

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा नागरिकता विधेयकको विरोध

पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिकता विधेयकको सांकेतिक रुपमा विरोध गरेका छन्। उनले बाहिरियाहरुलाई भित्र्याएर वास्तविक नेपालीलाई धरापमा पार्ने प्रपञ्च गरिएको दाबी गरेका छन् ।

दशैंको अवसरमा भिडियो सन्देश जारी गरेका शाहले राष्ट्र र राष्ट्रियता सर्वाधिक संकटापन्न स्थितिमा रहेको बताउँदै अहिले बलियो मियो आवश्यक रहेको दावी गरेका छन्। ‘बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउन जरुरी छ’ उनले भनेका छन्–‘नेपाललाई फेरि महान बनाउनु परेको छ।’

एकातिर युवाहरु विदेश पलायन हुने र अर्कोतिर बाहिरियाहरुलाई भित्र्याउने प्रपञ्च रचिएको भन्दै उनले नेपालको धर्म, संस्कृति र सभ्यतामाथि घातक प्रहार भएको बताएका छन् । ‘बाहिरियाहरुलाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ’ उनले भनेका छन्, ‘विश्वका दुई ठूला मुलुकका बीचमा अवस्थित हाम्रो देशको धर्म, संस्कृति, सभ्यतामाथि घातक प्रहार हुँदै आएको छ ।’

देशले कहिल्यै पनि हार्न नहुने बताएका उनले अहिले देशलाई दाउमा लग्ने अवस्था बनेको जनाएका छन्। ‘हाम्रो राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा छ । हाम्रा मौलिका धार्मिक, सांस्कृतिक मान्यताहरु विस्थापित गर्ने क्रमलाई तीव्रता दिइएको छ’ शाहले अगाडि भनेका छन्–‘परराष्ट्र नीति असन्तुलित भइदिंदा राष्ट्रहित र सुरक्षा संकटग्रस्त बन्दै गएको छ । व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको छ । सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ । विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ । पहिले पनि हामीले भनिसकेका छौं हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन ।’

विशेष