News राजनीति

सिट बाँडफाँटका लागि सत्ता घटक पाँच दलिय बैठक बस्दै

सिट बाँडफाँटका लागि सत्ता घटक पाँच दलिय बैठक बस्दै

आसन्न चुनावमा सिट भागबण्डामा सहमति खोज्न सत्ता घटक पाँच दलिय बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

शीर्ष तहका नेता सहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बस्न लागेको जनाईएको छ। यस अघि बिहीबार बसेको बैठकमा सिट भागबण्डामा सहमति जुट्न नसकेपछि आज पुनः छलफलका लागि नेताहरुलाई डाकिएको छ ।

गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरे पनि घट्ने सम्भावना छ। सत्ता गठबन्धनका पाँचै दलले आफूले गरेको दाबीबाट घटेर सिट बाँडफाँट टुंग्याउने तयारी छ।

कांग्रेसका एक नेताका अनुसार गठबन्धनमा जसपा र नेकपा एकीकृत समाजवादीले धेरै सिट दाबी गर्दा सिट बाँडफाँटको विषय टुंग्याउन गाह्रो भइरहेको छ। कार्यदलमा जसपाले ३५, एकीकृत समाजवादीले ४० सिट दाबी गरेका थिए।

यही विषयमा सहमति खोज्न आजै बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ। बिहान ९ बजेदेखि उनीहरूबीच छलफल भएको हो।
 

विशेष