भारतीय सेना प्रमुख पाण्डेलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान
![भारतीय सेना प्रमुख पाण्डेलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/09/manoj-pande.jpg)
भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेकी छिन।
भारत र नेपालबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ७ दशक लामो प्रचलनलाई कायम राख्दै पाण्डेलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। सन् १९५० मा भारतीय सेनाका सेनापति जनरल केएम करिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो ।
गत वर्ष नोभेम्बरमा नेपालका प्रधानसेनापति जनरल प्रभुराम शर्मालाई पनि भारतिय राष्ट्रपति रामनाथ कोविन्दले नयाँ दिल्लीमा भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए।
राष्ट्रपति कार्यालय शितल निवासमा आज आयोजित समारोहपछि जनरल पाण्डेले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट पनि गरे। भेटमा पाण्डेले सम्मानका लागि राष्ट्रपति भण्डारीप्रति आभार प्रकट गरेका थिए।
यसअघि आजै बिहान आयोजित एक औपचारिक कार्यक्रममा पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जली अर्पण गरे। त्यसपश्चात नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहमा पाण्डेलाई सम्मान गारत अपर्ण गरिएको थियो ।
त्यसपछि उनले नेपाली समकक्षी जनरल प्रभुराम शर्मासँग भेटवार्ता गरे। भेटमा दुवै पक्षबीच दुई देशका सेनाबीच लामो समयदेखि रहिआएको सम्बन्धलाई थप सुदृढ बनाउने बारे छलफल भएको भारतिय दुतावासले जनाएको छ।
पाण्डेले भारत सरकारको तर्फबाट नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न हलुका सवारी साधनसहित विविध तालिम उपकरण उपहार स्वरुप प्रदान गरे।
पाण्डे नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माको निमन्त्रणामा नेपालको पाँचदिने भ्रमणका लागि भदौ १९ गते काठमाडौं आएका हुन।