News

मन्त्रीलाई अनुशासन सिकाउने सुरक्षा गार्डलाई ५ दिन हिरासतमा राख्न अनुमती

मन्त्रीलाई अनुशासन सिकाउने सुरक्षा गार्डलाई ५ दिन हिरासतमा राख्न अनुमती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई अनुशासन सिकाउने ठमेलस्थित छायाँ सेन्टरका सुरक्षा गार्ड शेरजंग गुरूङलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौले ५ दिनको अनुमती दिएको छ।

मन्त्री श्रेष्ठलाई ‘लाइनमा बस्नु’ भन्दै पालो मिचेर काम गराउन नदिएको आरोपमा गुरुङ पक्राउ परेका हुन। काठमाडौं प्रहरीले सुरक्षा गार्ड गुरूङमाथि अभद्र व्यवहारमा मुद्दा चलाउन अनुसन्धान गरिरहेको छ। उनलाई दरबारमार्ग वृत्तमा राखिएको छ।

मन्त्रीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गत शुक्रबार उनलाई पक्राउ गरेको थियो। मन्त्री श्रेष्ठ छायाँ सेन्टरमा बायोमेट्रिक्स गराउन गएका थिए। त्यहाँ सेवाग्राहीको लाइन थियो। मन्त्री श्रेष्ठ लाइन मिचेर जान खोजेपछि सुरक्षा गार्ड गुरुङले ‘लाइनमा बस्नु’ भनेका थिए।

मन्त्रीका पिएसओले श्रेष्ठ मन्त्री भएको जानकारी गराए पनि सुरक्षा गार्डले जो भए पनि लाइनमा बस्नुपर्ने बताएका थिए। मन्त्री त्यहाँबाट फर्केपछि उनी विरुद्ध जाहेरी परेको प्रहरीले जनाएको छ। यो घटनाबारे मन्त्री श्रेष्ठले छाया सेन्टरका सुरक्षा गार्डले आफूलाई ‘हप्कीदप्की गरेपछि पिएसओले उजुरी दिएको’ बताए।

मन्त्री श्रेष्ठले सुरक्षा गार्डको गल्ती ढाकछोप गर्न मन्त्रीको बदनाम गर्ने कोशिश भईरहेको बताएका छन् । उनले सुरक्षागार्ड गुरुङले सेवाग्राहीलाई राम्रो व्यवहार नगर्ने गरेको दाबी पनि गरेका छन् ।

मन्त्री श्रेष्ठले घटना सार्वजनिक भए जस्तो नभएको दाबी गरेका छन् । बिहानैको कुरा भएकाले त्यति भिड नभएको र आफर लाइनमै रहदा पनि उनले दुर्ब्यबहार गरेको आरोप लगाए। ‘एकजनापछि मेरो पालो थियो, लाइनमा भन्दै ठेलाठेल गर्दै सुपरभाइर हुँ भन्दै उनी आए । मेरो सेक्यूरिटी गार्डले उहाँ मेरो मन्त्री ज्यू हुनुहुन्छ भन्दा पनि उनले मन्त्री सन्त्री मतलब छैन भन्दै प्रतिवाद गरे ।’– श्रेष्ठले भने।

मन्त्रीलाई सम्मान गरेन भन्ने मेरो भन्दा पनि हरेक नागरिकलाई सम्मानपूर्वक व्यवहार हुनुपर्छ भन्ने मान्यता आफ्नो रहेको उनको भनाई छ। 

मन्त्री श्रेष्ठ संयुक्त राष्ट्र संघीय निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को महासभामा भाग लिन क्यानडा जाँदैछन् । त्यसका लागि बायोमेट्रिक दिन छायाँ सेन्टरस्थित भीएफएसको भिसा सेन्टरमा पुगेका थिए ।
 

जीवनराम श्रेष्ठ

विशेष