भारतीय सेना प्रमुखलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने
![भारतीय सेना प्रमुखलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/09/pande.jpg)
पाँचदिने भ्रमणका लागि काठमाडौंमा रहेका भारतीय सेना प्रमुख मनोज पाण्डेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ३ बजे शितल निवासमा उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछिन् । यस्तो सम्मान पाउने मनोज पाण्डे भारतका १९ औं सेना प्रमुख हुन् ।
नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो पटक मानार्थ महारथीको सम्मान लिएका थिए ।
पाण्डेले आजै सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । त्यसपछि उनलाई नेपाली सेनाको मुख्यालय जंगीअड्डामा गार्ड अफ अनर दिने कार्यक्रम छ ।
मंगलबार सेना प्रमुख पाण्डेले सगरमाथा आधार शिविरको भ्रमण गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गर्ने कार्यतालिका छ । उनले देउवनलनई भारतीय सेनाले अघि सारेको अग्निपथ योजनाबारे पनि कुरा राख्नसक्ने अनुमान छ । अग्निपथबारे भारतले लिखित जवाफ नदिएसम्म नेपाली युवाको भर्तीलाई रोकिएको छ ।
मंगलबार नै उनले काठमाडौंस्थित पशुपतिनाथ मन्दिरको दर्शन गर्नेछन भने बुधबार मुक्तिनाथ मन्दिरको दर्शन गर्ने जनाईएको छ । उनी नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टर पोखरा पनि पुग्ने र वसन्तपुरस्थित हनुमानढोका जाने कार्यक्रम पनि तय भएको छ । उनी बिहीबार अपराह्न स्वदेश फर्किनेछन्।