News राजनीति

माओवादी सांसदले लिङ्देनलाई संसदको बोझ भनेपछि...

माओवादी सांसदले लिङ्देनलाई संसदको बोझ भनेपछि...

सरकारले संसदको कार्यकाल लम्ब्याउने गरी अघि सारेको विधेयकको विरोध गर्दै राजिनाममा दिएका राप्रपाका सांसद राजेन्द्र लिङ्देनको प्रतिनिधि सभाको मंगलबारको बैठकमा मजाक उडाईएको छ। नेकपा (माओवादी केन्द्र) का सांसदले लिङ्देनलाई संसदको बोझ भन्दै मजाक उडाएका हुन।

वैठकमा माओवादी सांसद गजेन्द्र महतले संसदमा आक्कलझुक्कल आउने, आउँदा पनि राजा महाराजा आएको झल्को देखाउने र सदनको भूमिकामा चासो नै नराख्ने लिङ्देनले पहिले नै राजीनामा दिनुपथ्र्यो भन्दै उनको राजीनामाले हल्का भएको महसुस गरेको बताए।

‘आफूलाई अब्बल, राष्ट्रवादी र इमान्दार ठान्ने, संसदमा आक्कलझुक्कल आउने, आउँदा पनि राजा महाराजा आएको झल्को देखाउने, सदनको भूमिकामा चासो नै नराख्ने, पहिले नै राजीनामा दिनुपर्ने मान्छे, साँचो अर्थमा भन्दा सदनका लागि बोझजस्ता देखिने माननीयज्यूले राजीनामा दिएर हल्का महशुस गराइदिएकोमा उहाँलाई धन्यवाद’ उनले भने, ‘पुनः सांसद भएर आइहालेमा उहाँको भूमिका के हुने त्यो हेर्न बाँकी नै छ। उहाँलाई केही भनेर बिदाइ गर्ने मन थियो। त्यो अवसर पाइएन।’

राप्रपाका अध्यक्ष समेत रहेका लिङ्देनले आइतबार प्रतिनिधि सभा बैठकमा अबदेखि उपस्थित नहुने र तलब भत्ता पनि नलिने घोषणा गरेका थिए। प्रतिनिधि सभाको कार्यकालयको गणना प्रतिनिधि सभाको पहिलो बैठक बसेको दिनबाट गर्ने गरि सरकारले ल्याएको विधेयकको लिङ्देन विरोधमा थिए। उनले निर्वाचनपछि पनि प्रतिनिधि सभा राख्दा तलब भत्ता खानमात्र सांसद बनेको जस्तो देखिने भन्दै प्रतिनिधि सभा छाडेका थिए।

उनले फेसबुकमा लेखेका थिए– ‘निर्वाचन घोषणा भईसकेपछि पनि संसदको आयु लम्ब्याउँदै तलब भत्ता खाँदै बस्नु अनुचित मात्र होईन अनैतिक हो भन्ने निष्कर्षमा पुगेर आजबाट सांसद पदबाट राजिनामा दिएकोछु। आगे जनता जनार्दनको जिम्मामा छाडेको छु।’ उनको यो निर्णयले ब्यापक जनसमर्थन पाएको थियो।
 

राजेन्द्र लिङ्देन

विशेष