News विदेश

राहुल गान्धीले सुरु गरे ३५७० किलोमिटर लामो ५ महिने पैदल यात्रा

राहुल गान्धीले सुरु गरे ३५७० किलोमिटर लामो ५ महिने पैदल यात्रा

भारतीय कंग्रेसका नेता राहुल गान्धी ५ महिने पैदल यात्रामा निस्किएका छन्। भारतको सबैभन्दा दक्षिणी भूमि कन्याकुमारीबाट उनी विहिवार कश्मिरसम्मको ३ हजार ५ सय ७० किलोमिटर लामो यात्राका लागि निस्किएका हुन्।

सन् २०२४ को आम निर्वाचनलाई लक्षित गर्दै ‘भारत जोडो यात्रा’ सुरू गरेको छ। राहुलको नेतृत्वमा सुरु भएको यही यात्रा मार्फत कंग्रेसले आफुलाई जनतासँग जोड्ने उद्देश्यले लिएको छ। पाँच महिनाभित्र मुलुकका १२ प्रदेशमा पुग्ने कंग्रेसको लक्ष्य छ।

सत्तारूढ भारतीय जनता पार्टीका कारण बढ्दै गएको धार्मिक विभाजन, बेरोजगारी, महंगी र लोकतान्त्रिक संस्थाहरूको गिर्दो साखलाई ट्रयाकमा फर्काउन आफ्नो अभियान रहेको गान्धीको भनाइ छ।

लङमार्चको अभिप्राय भारतीय समाज विभाजन विरूद्धको आवाज र स्वयं पार्टीलाई पनि सशक्त बनाउनु रहेको कंग्रेस नेताहरूको भनाइ छ। त्यसबाहेक सत्तारूढ भारतीय जनता पार्टीका नीति र गतिविधिको भण्डाफोरमा पनि लङमार्च केन्द्रित छ।

सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र बनेको भारतमा कंग्रेसले लामो समय सत्ता संचालन गरेको थियो। सन् २०१४ यता भारतमा भाजपाको सशक्त उदय भएको छ। लोकसभाका चुनावमा लगातार दुई पटक हार व्यहोरेको कंग्रेसले यो अवधिमा भएका ४५ वटा विधान सभा चुनावमध्ये ४० वटामा पराजय व्यहोरेको छ।

भाजापालाई पन्छाएर कंग्रेसको साख फर्काउन यो यात्रा सुरू गरिएको कंग्रेसका नेताले जनाएका छन्।
 

विशेष