News राजनीति

कांग्रेसले १००  सिट नपाए विद्रोह हुन्छः नेता शेखर कोइराला

कांग्रेसले १००  सिट नपाए विद्रोह हुन्छः नेता शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सत्ता गठबन्धन जोगाउन सिट बाडफाँट गर्दा कांग्रसले कम्तिमा १०० सिट पाउनुपर्ने बताएका छन्। प्रेस युनियनले आज जनकपुरमा गरेको कार्यक्रममा बोल्दै कोइरालाले बहुमत ल्याउन पनि कांग्रेसले १०० सिट लिनुपर्ने बताएका हुन्।

सिट बाँडफाँटबारे छलफल भइरहेकोले कांग्रेसलाई १ सय सिट नछोडे विद्रोह हुने उनको चेतावनी छ। कांग्रेसले केन्द्रीय समितिमा गरेको निर्णयमा एकल बहुमत ल्याउनका लागि चुनावी तालमेल गर्ने भन्ने उल्लेख रहेकाले त्यसका लागि कांग्रेसले कम्तिमा १ सय सीट पाउनु पर्ने उनको भनाई छ। ‘तालमेल मात्रै होइन कांग्रेसको बहुमत हुने कुरा पनि हाम्रा लागि महत्वपूर्ण हो। त्यसका लागि त कम्तीमा १०० सीट कांग्रेसले लिनुपर्छ ।’– उनले भने।

१६५ प्रतिनिधि सभा क्षेत्रमै एक्लै उठ्ने हो भने पनि कांग्रेसभित्र आकांक्षीलाई व्यवस्थापन गर्न गाह्रो रहेको उल्लेख गर्दै कोइरालाले गठबन्धन गर्दा कम्तीमा पनि १०० क्षेत्र कांग्रेसले लिनुपर्ने बताएका छन्।

कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन र पाँच वर्ष सरकार चलाउन गठबन्धन गर्ने निर्णय गरेको थियो। ‘१०० सिट नलिए कसरी बहुमत ल्याउन सकिन्छ?,’ कोइरालाले भने, ‘तर १०० सिट दिने पक्षमा सत्ता गठबन्धनका अरू दल छैनन्। १०० भन्दा कम सिट लिँदा त विद्रोह हुन सक्छ।’

उनले कांग्रेसमा चुनाव उठ्न धेरै नेता तथा कार्यकर्ता आकांक्षी रहेकोले व्यवस्थापनमा कठिनाइ रहेको पनि बताए।

सत्ता गठबन्धनका अन्य दललाई प्रत्यक्षतर्फ धेरै सिट छाड्दा समानुपातिकतर्फ कांग्रेसको मत घट्न सक्ने पनि कोइरालाले बताए।
 

विशेष