News

प्रधानमन्त्रीले भनेः रेशम चौधरीको विषय जटिल र अप्ठ्यारो छ

प्रधानमन्त्रीले भनेः रेशम चौधरीको विषय जटिल र अप्ठ्यारो छ

प्रधानमन्त्री पुष्पकमल दाहालले रेशम चौधरी लगायतका व्यक्तिहरूलाई रिहा गर्नु अप्ठ्यारो विषय भएपनि त्यसका लागि आफूले पहल गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले टीकापुर घटनामा दोषी ठहर भइ कारागारमा रहेका चौधरीसहितको रिहाईका लागि संसदबाट कानुन वनाएर अगाडि वढ्ने वताएका हुन् ।

चौधरीको विषय जटिल र अप्ठ्यारो भएको उनको भनाइ थियो । ‘रेशम चौधरीको विषय अलि अप्ठ्यारो र जटिल छ’ दाहालले भने–‘तर रेशम चौधरीसहित अन्य निर्दोषहरूलाई रिहाइ गर्ने कुरा विश्वास व्यक्त गर्छु।’

चौधरीको विषयमा यसअघि नागरकि उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले संसद्‍ बैठकमा प्रश्न उठाएकी थिइन् । श्रेष्ठको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले चौधरीलाई आवश्यक प्रक्रिया पूरा गरी रिहाइ गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरे।

संघीय संसद्‍मा ४ सिट रहेको उनको पार्टी नागरिक उन्मुक्ति पार्टीले पनि दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएको छ ।

०७२ साल भदौ ७ गते टीकापुरमा भएको घटनाका योजनाकार भन्दै रेशम चौधरीसहित विभिन्न व्यक्तिहरूलाई अदालतले आजीवन काराबासको सजाय सुनाएको थियो । हाल उनी डिल्लीबजारस्थित कारागारमा छन् ।

विशेष