News अपराध सुरक्षा

बलात्कारको मुद्दा हाल्ने धम्की दिएर करोडौं ठग्न खोज्दा कारागारको बास

बलात्कारको मुद्दा हाल्ने धम्की दिएर करोडौं ठग्न खोज्दा कारागारको बास

बलात्कारको मुद्दा हाल्ने धम्की दिएर ब्ल्याकमेल गर्दै करोडौं रुपैयाँ असुल गर्न खोज्ने गिरोहकी नाईके एक महिलालाई दाङ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

दाङ तुलसीपुरका एक व्यक्तिलाई ब्ल्याकमेल गरेको कसुरमा गढवा गाउँपालिका वडा नं. ६ घर भइ हाल तुलसीपुर उपमहानगरपालिका–६ मा बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराजलाई मुख्य योजनाकार ठहर्याईएको छ।

आइतबार थुनछेक बहसपछि ति महिलालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलासले गहतराजलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको र अन्य दुई जनासँग जनही एक–एक लाख रूपैंया धरौटी मागेको हो।

प्रहरीले सुरूमा अपराधिक लाभ मुद्दा चलाइएका आरोपित तीनमध्ये तुलसीपुर उपमहानगरपालिका–१८ ग्वारखोलाकी ३६ वर्षीया कृष्णीकुमारी बस्नेत पनि मागेको धरौटी बुझाउन नसक्दा कारागार चलान भएकी छन्। यस्तै घोराही उपमहानगरपालिका–१० नारायणपुरका २७ वर्षीय रूद्रबहादुर केसी एक लाख धरौटी बुझाएर छुटेका छन्। 

अनुसन्धानका क्रममा मिलेर ब्ल्याकमेल गरि ब्यक्तिबाट लाभ लिन खोजेको देखिएपछि प्रहरीले सुरूमा ‘संगठित अपराधिक लाभ’ शीर्षकमा मुद्दा चलाएको थियो। मुख्य योजनाकार गहतराजसहित अन्य दुई जनाले पीडित भनिएका तुलसीपुरका एक ब्यक्तिलाई ‘ब्ल्याकमेलिङ’ गर्दै पाँच करोड रकम मागेका थिए।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार उनीहरूले करोडौं रकम मागेको र उक्त रकम नदिए बलात्कार सम्बन्धी मुद्दा हालिदिने धम्की दिँदै आएका थिए। उक्त कुरा उनीहरूले पीडितकी छोरी र श्रीमतीलाई समेत सामाजिक सञ्जालमा पठाएर बार्गेनिङ गर्दै आएका थिए। उनीहरूले ती पुरूषबाट पटक–पटक गरी झन्डै ३० लाख लगिसकेको पाईएको छ।

मुख्य योजनाकार गहतराजका फरक–फरक नामका ‘स्कुटरका दुई लाइसेन्स’ र दुई वटा फरक–फरक नामका नागरिकता फेला परेका थिए। प्रहरीले अनुसन्धानका क्रममा यसबारे सोधपुछ गर्दा उनले पीडित भनिएका पुरूषकै सहयोगमा आफूले प्राप्त गरेको बयान दिएकी थिइन्। 

सोही बयानका आधारमा प्रहरीले ती पुरूषलाई नियन्त्रणमा लिएर उनी बिरूद्ध सरकारी कागजात किर्ते शीर्षकमा मुद्दा चलाएको थियो। तर जिल्ला अदालतले भने त्यसमा ती पुरूषको कुनै संलग्नता नदेखिएकाले साधारण तारेखमा छोड्न आदेश दियो।

प्रहरीको जानकारी अनुसार ३५ वर्षीया कृष्णी र तुलसीपुरका एक पुरुषबीच सामान्य चिनजान हुँदै सम्वन्ध गाढा भएको थियो। महिलाले दुःख देखाएपछि पीडित भनेका पुरुषले उनलाई खर्च दिँदै आएका थिए। त्यही क्रममा उनीहरूका बीचमा शारीरीक सम्बन्ध पनि हुँदै आएको अनुसन्धानबाट खुलेको छ।

पछि सम्वन्ध विग्रदै गएपछि महिलाले ति पुरुषसँग रकम माग गर्न थालेकी थिईन। उनले वकिललाई कागज लेख्न पठाई ती पुरुषबाट एकमुष्ट १५ लाख लिएकी थिईन। तर,पछि ती महिलाले सहमतिविपरीत विगतका प्रमाणहरू संकलन गरी पटक÷पटक बार्गेनिङ गर्दै आएको खुलेको छ।

यो बीचमा पनि ती पुरुषले घर परिवार र आफन्त कसैलाई नभनी एक्लै आफ्नो समस्या समाधानको विकल्प खोज्दै आएका थिए। विश्वकर्माले कि नगद दिन। त्यो सम्भव नभए घर वा घडेरी आफ्नो नाममा गरिदिन चेतावनी दिँदै आएकी थिइन्। 
विश्वकर्माले म्यासेज गर्दै पाँच करोडसम्म नदिए बलात्कारको मुद्दा हालिदिने चेतावनी  दिँदै आएकी थिइन्। श्रीमती र छोरीले समेत विश्वकर्माको धम्की र बार्गेनिङको यातना खेप्नु परेपछि पीडित पुरुष जिल्ला प्रहरी कार्यालयमा पुगेर लिखित जाहेरी दिएका थिए। 

मंसिर १६ गते बेलुका ५ बजे घोराही–१७ स्थित कबिला रिसोर्टमा ५ लाख लिदै गर्दा महिलालाई प्रहरीले पक्राउ गरेको थियो।

विशेष