News

‘मुकुन्दे पथ’ मा केपी ओली, दिब्योपदेशको आधिकारिकतामा उठाए प्रश्न

‘मुकुन्दे पथ’ मा केपी ओली, दिब्योपदेशको आधिकारिकतामा उठाए प्रश्न

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘मुकुन्दे पथ’मा देखिएका छन्। मुकुन्दे अर्थात् मुकुन्द घिमिरे केही वर्षअघि रत्नपार्कमा रुखमाथि चढेर भाषण गरी चर्चामा आएका थिए।

‘पहाडमा रेलैरेल । मधेसमा खेतैखेत । ट्याक्टरले खेत जोत्ने । हेलिकप्टरले बीउ छर्ने । १० करोडसम्म जनतालाई सुखले पाल्ने । र, ३६५ दिन नै दसैं घोषणा गर्ने न्यूनतम कार्यक्रम छ’ भन्दै रत्नपार्कको रुखमा चढेर गरेको व्यंग्यात्मक भाषण निकै चर्चामा आएको थियो।

नेकपा एमालेका अध्यक्ष ओली अहिले यस्तै कुराको पछाडि लागेका छन्। ओलीले पृथ्वीनारायण शाहले दिएको भनिएको दिव्योपदेश २०२५ पुस २७ बाट आएको दाबी गर्दै यस विषयमा चर्चा गर्नेहरुलाई कुन ग्रन्थबाट दिव्योपदेश पढ्न थालेको भन्दै प्रश्न समेत गरेका छन्।

शनिबार नेपाल–चीन हिमालय मैत्री समाजद्वारा आयोजित ‘नेपालको भूराजनीतिक अवस्थाः चुनौती र अबको बाटो विषयक विचार गोष्ठी’ कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले भने–‘पृथ्वीनारायण शाहले दिव्योपदेश कसलाई दिएको हो? कहिले दिएको हो? कस्तो अवस्थामा दिएको हो? त्यो दिएको भए उसैबेलादेखि आयो कि २०२५ साल पुस २७ गतेबाट आयो? २०२५ पुस २७ गते दिव्योपदेश आयो।’

‘चलाख सन्तान भयो भने, शासक सन्तान भयो भने यस्ता कुराहरु निस्किन सक्दछन्। उत्पत्ति हुन्छन्, त्यो बेग्लै कुरा हो’ आफनो कुरालाई थप पुष्टि गर्न उनले भने–‘दिव्योपदेश आउँदा म पनि १७ वर्षको भइसकेको थिएँ।’

नेपालको परराष्ट्र नीतिको कुरा चल्दा अथवा असंलग्न आन्दोलनको शिखर सम्मेलन हुँदा यदुनाथ खनालहरुले असंलग्न आन्दोलनसम्बन्धी सिद्धान्तहरु तय गर्दा दिव्योपदेशको चर्चा कति ठाउँमा छ? कहाँ कहाँ छ? भन्दै प्रश्न गरे। ‘त्यतिखेर दिव्योपदेश जन्मिएकै थिएन। १९५५ देखि १९६१ सम्मका कुरा गर्ने हो भने।’– उनले भने।

पृथ्वीनारायण शाहको दिव्योपदेशको आधिकारिकतालाई लिएर यसअघि पनि प्रश्न उठ्ने गरेका थिए। मुकुन्द घिमिरेले वर्षौ अगाडिदेखि यो विषयमा वोल्दै आएका छन् । दिव्योपदेशका सन्दर्भ र दिव्योपदेश दिइएको भनिएको बेलाका कतिपय सन्दर्भ मेल नखाने भएकाले पृथ्वीनारायणको नाममा महेन्द्रले दिव्योपदेश लेखाएको आशंका गरिन्छ। ओलीले आफ्नो दाबीमा पनि सोही आशंका अभिव्यक्त गरेका छन्।
 

विशेष