News खेल

स्पट फिक्सिङमा विनोद भण्डारी, शरद भेषवाकर र मेहवुव आलम संलग्न भएको आशंका

स्पट फिक्सिङमा विनोद भण्डारी, शरद भेषवाकर र मेहवुव आलम संलग्न भएको आशंका

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको स्पट फिक्सिङको प्रारम्भिक अनुसन्धानमा तीन जना नेपाली खेलाडीहरु तानिएका छन् । उनीहरुसँग सीआईबीले बयानसमेत लिएको छ । सीआईबी स्रोतका अनुसार बिनोद भण्डारी र शरद भेषवाकरसँग बयान लिएको हो ।

विनोद भण्डारीले सन २००९ को एसीसी ट्वान्टी ट्वान्टी कपबाट नेपाली राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । उनी नेपाली क्रिकेटमा हिटर ब्याटरका रुपमा परिचित छन् । त्यस्तै भेषवाकरले २००४ देखि राष्ट्रिय टिमबाट क्रिकेट सुरु गरेका खेलाडी हुन् । उनी टीमका लागि मध्यक्रमका ब्याटर हुन् ।

प्रारम्भिक अनुसन्धानबाट विनोद भण्डारी, शरद भेषवाकरको भूमिका शंकास्पद देखिएको जनाईएको छ। भण्डारीले फारवस्ट युनाइटेड र भेषवाकरले पोखरा एभेन्चरबाट लिग खेलेका थिए । उनीहरुबाहेक पूर्वखेलाडीहरू र टीमसँग संलग्न भएका केही सदस्यको भूमिकासमेत शंकास्पद भएको सीआईबीकोे दाबी छ । जसमध्ये एकजना राष्ट्रिय टिमका पूर्वखेलाडी मेहबुब आलमको भूमिका शंकास्पद देखिएको सीआईबीले जनाएको छ ।

स्पट फिक्सिङमा केही नेपाली खेलाडी र केही विदेशी खेलाडीको भूमिका शंकास्पद देखिएको सीआईबीले जनाएको छ।स्पट फिक्सिङमा आशंका गरिएका केही विदेशी खेलाडी भने नेपाल छोडिसकेका छन् । 

सीआईबीले क्रिकेटमा भएको फिक्सिङबारे अनुसन्धान गर्न डीएसपी सुन्दर तिवारीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोलीसमेत बनाएको छ । सीआईबीको प्रारम्भिक अनुसन्धानबाट नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदारीसहित सञ्चालन अधिकार पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्समार्फत नै स्पट फिक्सिङ भएको आशंका सीआईबीको छ ।

सेभेन थ्री स्पोर्ट्ससँगकै साझेदारीमा क्यानले नेपाल टी–२० लिग सुरु गरेको हो । ९ पुसदेखि सञ्चालनमा रहेको प्रतियोगितामा देखिएका अस्वाभाविक नतिजा र केही खेलाडीको अस्वाभाविक प्रदर्शनबाट म्याच फिक्सिङको आशंका गरिएको थियो ।

म्याच फिक्सिङको आशंकामा क्यानलेसमेत अनुसन्धानका लागि सीआईबीलाई लिखित पत्राचार गरेको थियो । क्यानले लिगमा हुनसक्ने फिक्सिङको आशंकमा सीआईबीको अनुसन्धान टोलीलाई सुरुदेखि नै खेलाडीसँग याक एन्ड यतीमा राखेको थियो ।

खेल चलिरहेका बेला काठमाडौं नाइट्स क्लबका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो खेलाडीलाई ‘फिक्सिङका लागि एप्रोच’ गरिएको खुलासा गरेका थिए । त्यसबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘एन्टी करप्सन युनिट’लाई जानकारी गराएको मल्लले बताएका थिए ।
प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए ।

विशेष