News

रेशम चौधरीको पार्टीमा भाँडभैलो, अध्यक्ष र वरिष्ठ नेताको दोहोरी

रेशम चौधरीको पार्टीमा भाँडभैलो, अध्यक्ष र वरिष्ठ नेताको दोहोरी

टिकापुर घट्नाका मुख्य आरोपी रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा विवादको श्रृंखला तिव्र रुपमा वढेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र वरिष्ठ नेता लक्ष्मण चौधरीबीच सामाजिक सञ्जालमै भनाभन भएपछि विवाद सतहमा आएको हो।

आइतबार पार्टीका वरिष्ठ नेता लक्ष्मण चौधरीले सामाजिक सञ्जालमा ‘टीकापुर राजबन्दीमा रेशमलाई गल्ति गर्ने छुट छैन’ भन्दै स्टाटस लेखेपपछि पार्टी अध्यक्ष श्रेष्ठले सोही पोष्टमा प्रतिक्रिया दिदै विवादको सर्वत्र प्रदर्शन गरेकी छिन्।

उनले चौधरीलाई चेतावनीको शैलीमा लेखेकी छन्, ‘दुई–चार लाखमा बिकिहाल्ने जस्तो सोच्नुभयो? आफ्नो पहिचानको लागि लडाइँ लडेर जेल पर्नुभएको माननीयज्यू अहिले पनि कारागारमै हुनुहुन्छ। लक्ष्मणजी स्मरण रहोस्।’

त्यसपछि कार्यकर्ता तथा शुभेच्छुकले भने पार्टीको विवाद आन्तरिक रुपमै सुल्झाउन सुझाव दिएका छन् । वीरेन्द्र चौधरीले त पार्टी नेतृत्व प्रति ब्यंग्य गर्दै ‘पाँच सिटमा भाँडभैलो’ लेखेका छन।

सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टीभित्र विवाद बढेका बेला दुई नेताबीचको विवाद छरपस्ट भएपपछि कार्यकर्ता भने निरास छन् । पार्टीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलमुक्त नभएसम्म सरकारमा सहभागी नहुने जनाएको छ। केन्द्रमा मात्रै होइन, सुदूरपश्चिम प्रदेशमा पनि नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुने–नहुनेबारे कुनै निर्णय गर्न सकेको छैन।

पार्टीभित्र सरकारमा  सहभागी हुने र नहुने विषयमा दुई धार छ। पार्टी अध्यक्ष श्रेष्ठले भने पार्टीमा कुनै विवाद नरहेको दाबी गरेकी छन्। चौधरीले भने आफ्नो मनमा लागेका विषय सामाजिक सञ्जालमा राखेको र ती आफ्ना भावना भएको प्रतिक्रिया दिएका छन्। उनले पार्टीमा देखिएका विवादलाई पार्टीले कसरी सम्बोधन गर्छ भनेर हेरिरहेको बताउँदै यस विषयमा धेरै प्रतिक्रिया दिन नचाहेको बताए।

चौधरी पक्षले जनमत पार्टीसँग कार्यगत एकता गर्दा पार्टीमा कुनै छलफल नगरेको आरोपसमेत लगाएको छ। अध्यक्ष श्रेष्ठले पार्टीमा छलफल नै नगरेर एकलौटी निर्णय लिएको चौधरी पक्षको आरोप छ।

नयाँ शक्तिका रुपमा उदाएका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले जनतासँग सरोकार राख्ने मुद्दामा सरकारलाई दबाब बढाउन भन्दै केही दिनपहिले कार्यगत एकता गरेका थिए। जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले सहकार्य गर्न सकिने १२ बुँदे पत्रमा हस्ताक्षर गरेका हुन्।

विशेष