मधेश प्रदेशमा जसपाका सरोज यादव मुख्यमन्त्रीमा नियुक्त
मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन् । यादवले बुधबार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।
यो प्रदेशसभामा बहुमतका लागि ५४ जना प्रदेशसभा सदस्यको आवश्यक पर्छ । उनले मधेश प्रदेश सभाका १०७ सदस्यमध्ये ६३ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका थिए।
उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । आफ्नै दल जसपाका १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १÷१ तथा स्वतन्त्र प्रदेशसभा सदस्य गरी ६३ जनाले समर्थन गरेका थिए ।
मुख्यमन्त्री नियुक्त भएका यादव मधेश प्रदेशका निवर्तमान सभामुख समेत हुन् । ०७४ सालमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । पछि संघीय समाजवादी फोरम र राजपा नेपाल मिलेर जसपा भएको थियो । त्यसपछि जसपा विभाजन हुँदा उनी उपेन्द्र यादव नेतृत्वको जसपामै बसेका थिए ।
उनी ४ मंसिरको चुनावमा बारा क्षेत्र नं. १ (ख) बाट निर्वाचित भएका थिए । यसअघि २०७४ मा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
विज्ञान पढेका उनले बीएस्सीसम्मको अध्ययन गरेका छन् । सद्भावना पार्टीबाट राजनीति सुरु गरेका उनी २०५४ मा तत्कालिन हरिहरपुर गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए ।
पहिलो संविधानसभा निर्वाचन २०६४ मा उनी बारा क्षेत्र नं. १ बाट सद्भावना पार्टीबाट निर्वाचित भएका थिए । उनी माधव नेपाल नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र डा. बाबुराम भट्टराई नेतृत्वमा स्वास्थ्य राज्यमन्त्री भएका थिए । ५१ वर्षीय यादव विद्यार्थीकालदेखि नै राजनीतिमा रुचि राख्थे ।