News

चित्रबहादुरको ब्यंग्यः सरकारमा नगई चुनावमा बोराका बोरा उडाएको खर्च कसरी उठ्छ ?

चित्रबहादुरको ब्यंग्यः सरकारमा नगई चुनावमा बोराका बोरा उडाएको खर्च कसरी उठ्छ ?

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चुनावमा भएको खर्च उठाउन र विगतमा भएका कमी–कमजोरीबाट बच्न कांग्रेस लगायतका दलहरु सरकारमा जान लालायित भएको हुनसक्ने आशंका गरेका छन् ।

नेपाली कांग्रेसले पनि मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको प्रति कटाक्ष गर्दै उनले यस्तो आशंका गरेका हुन। ‘पैली, पैली चुनावमा जाँदाखेरी पैसा चै खल्तीमा राखेर अथवा झोलामा राखेर जान्थ्यौ, हामी, चुनाव प्रचार गर्न। पैसा त आवश्यक चाहियो’ उनले भने–‘अहिले त वोरामा भरी पैसा बोकेर जान्छन् चुनावमा।’

‘सवैलाई अनुभव छ नी यो त होईन ? यस्तो चुनाव प्रणालीबाट आएकाले, बोरामा पैसा लगेर खर्च गरेर चुनाव जितेर आएकाले सरकारमा नगईकन, सभामा नवसीकन, देशको प्राकृतिक साधन श्रोत दोहन नगरिकन त्यो चुनावमा उडाएको खर्च उठ्छ ?’ उनले थपे–‘केही डरले र विगतमा भएका आफना कमीकमजोरीलाई, त्यसबाट वच्न पनि सवै एक ठाउँमा जम्मा भएको होकी भन्ने डर लाग्या छ मलाई। किन भने सरकारमा सामेल भएपछि हिजोअस्ति गरेका कमी कमजोरीहरु उधिन्न त पाईएन, किन भने सरकारमा छ। काम गर्ने ठाउँमा छ, कार्यान्वयन गर्ने ठाउँमा छ। यसबाट चै तपाईको नेपालको लोकतन्त्र, नेपालको प्रजातन्त्र बलियो हुन्छ भन्ने मलाई लाग्दैन।’

उनले प्रमुख प्रतिपक्षी दलले पनि सरकारलाई समर्थन गरेको डरलाग्दो दृश्य नेपालमा देखिएको बताएका केसीले भने, ‘संसदीय व्यवस्थामा प्रतिपक्ष हुन्छ, मैले जानेको संसदीय व्यवस्था त त्यस्तो हो, नेपालमा त आज विचित्र के भयो भने भएभरका सबै सरकारमा सामेल हुने, सरकारलाई समर्थन गर्ने, यहाँभन्दा हाइसञ्चो सत्तापक्षमा बस्नलाई के हुन्छ ?’

अध्यक्ष केसीले संसदमा शक्तिशाली प्रतिपक्ष भएन भने सरकार निरंकुश हुने पनि बताए । कांग्रेसले दिएको समर्थनभित्र कुनै अदृश्य खेल हुन सक्ने पनि उनले आशंका गरेका छन् । ‘बलियो शक्तिशाली प्रतिपक्ष भएन भने त्यो सरकार निरंकुश हुन्छ, त्यसले जे मन लाग्यो उही गर्छ । सबै साथीहरुलाई सरकारमा सामेल भएर विगतमा भएका आफ्नो गल्ती कमजोरी ढाक्ने, त्यहीं भित्र एउटालाई पन्छाउने अर्को फेरि सरकारमा आउने ताल त होइन यो ?’ उनले भने ।

सरकारलाई समर्थन दिएको दलले समर्थन फिर्ता लिंदा पनि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाको स्मरण गर्दै उनले कांग्रेसले अहिले समर्थन दिएर पछि सरकारलाई अप्ठेरो पार्ने रणनीति हुनसक्ने उनको आशंका छ ।

‘दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न त पाइँदैन संसदमा तर दिएको समर्थन थुत्न त संविधानले छेक्दैन नि’ अध्यक्ष केसीले प्रश्न गरे, ‘त्यस्तो बेला सरकारको हालत के हुन्छ ? त्यही खेलभित्र यो (समर्थन) त होइन कतै ?’

विशेष