News

आफु निकटकै नेताले टेरपुछर नलगाएपछि एक्ले पार्टी प्रवेश गर्दै भुसाल

आफु निकटकै नेताले टेरपुछर नलगाएपछि एक्ले पार्टी प्रवेश गर्दै भुसाल

आफु निकटकै नेताले टेरपुछर नलगाएपछि बामपन्थी नेता घनश्याम भुषाल एक्लै एकिकृत समाजवादीमा प्रवेश गर्न लागेका छन्। एमालेले टिकट नदिएपछि पार्टी छोडेका भुसाल माओवादीको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका थिए।

उनी शुक्रबार पत्रकार सम्मेलनमार्फत नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएका छन् । शुक्रबार अपरान्ह भुसालले आफूनिकट केही एमाले कार्यकर्तालाई समेत नेकपा एसमा सामेल गर्ने भएका छन् । भुसालले नेकपा एमालेका केन्द्रीय कमिटीमा रहेका आफूनिकट सदस्यहरुलाई आग्रह गरेपनि प्रायः कसैले साथ नदिने भएका छन् ।

भुसाल नेतृत्वको नेपाल अध्ययन केन्द्रमै आवद्ध एमाले नेताहरु पनि उनीसँग नेकपा एसमा सामेल नहुने भएका हुन् । उषाकिरण तिम्सिना, अरविन्द सिंह, टंक कार्की, दिपक प्रकाश भट्ट लगायतका नेताहरु घनश्यामसँग नजिक मानिन्छन् ।

अरु उनीनिकट नेताहरु यसअघि नै एमालेमा सांसदको टिकट पाइसकेका छन् । नेकपा एमालेभन्दा नेकपा एस कुनै अर्थमा क्रान्तिकारी पार्टी नभएको र पाँच वर्षभित्रमा एमाले, माओवादी र नेकपा एस एकै ठाउँमा आउनुपर्ने भएकाले आफूहरु नेकपा एसमा नजाने उनि निकट नेताहरुले वताए।

कुनै पार्टी नरहेको र एमालेमा फर्किने ठाउँ पनि नभएकाले भुसाल भने नेकपा एसमा जानुपरेको निकट नेताहरुले बताएका छन् । माओवादीले आफ्नो कोटाको सीट दिएर उम्मेदवार बनाएका भुसालले पार्टी रोज्ने बेला नेकपा एस रोजेकोमा माओवादी नेताहरुले पनि उनको आलोचना गरेका छन् ।

भुसाल तत्काल नेकपा एसको सचिवालय सदस्यमा मनोनित हुने र केही समयपछि महासचिव बन्ने समझदारी बनेको नेकपा एसका नेताहरुले बताएका छन् । भुसालले नेकपा एसको महासचिवको भूमिकामा रहेर वृहत वाम एकता हुँदै साविक नेकपाको अवस्थामा कम्युनिस्ट पार्टीहरुलाई फर्काउन पहल गर्ने बताएका छन् ।

एमाले स्थायी कमिटी सदस्य रहेका भुसालले मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा पार्टीबाट टिकट पाएका थिएनन् । स्वतन्त्र उम्मेदवारी दिएका उनले चुनाव नेकपा एमालेका सचिव छविलाल विश्वकर्मासँग हारेका थिए । 

मार्क्सवाद, अर्थतन्त्रको विश्लेषण तथा अध्ययनमा विशेष रुचि राख्ने नेता भुसाल गत वर्ष मंसिरमा सम्पन्न भएको नेकपा एमालेको १०औँ महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए । माधवकुमार नेपाल पक्षले नेकपा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गर्दा पनि भुसाललगायत १० जना नेताहरू एमालेमा नै बसेका थिए ।

तर, चुनावमा भुसालसहित नेता भीम रावललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएनन् । टिकट नपाए पनि नेता रावल एमालेमै बसेका छन् भने भुसालले तत्काल पार्टी परित्याग गरेको घोषणा गरेका थिए । 

विशेष