News

प्रचण्डका घरवेटीलाई नारायणकाजीको धम्कीः नेताको ओत लागेर वसेकालाई कारवाही गर्छु

प्रचण्डका घरवेटीलाई नारायणकाजीको धम्कीः नेताको ओत लागेर वसेकालाई कारवाही गर्छु

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालका घरवेटीलाई कारवाही गर्ने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंका सडक अनुगमनमा निस्किएका मन्त्री श्रेष्ठले नेताको ओत लागेर वसेका कसैलाई पनि छुट नहुने वताए ।

विकास निर्माणको जिम्मा लिएर काम नगर्ने तर राजनीतिक दलका नेताको ओत लाग्ने जुनसुकै ठेकेदारलाई तह लगाइने उनले चेतावनी दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटीले धेरै सडकको विचल्ली बनाएको प्रसंगमा मन्त्री मन्त्री श्रेष्ठले प्रधानमन्त्रीले नै नराम्रो गर्ने जोकोहीलाई कारबाही गर्न अख्तियारी दिएको दाबी गरे।

‘म कोही घरबेटी, मित्र, कोही दाजुभाइसँग सम्बन्धित भएर काम गर्दिनँ। निरपेक्ष ढंगले काम गर्छुु। जोकोहीलाई पनि कारबाही गर्नुस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ’ उनले भने–‘त्यससँग प्रधानमन्त्रीलाई नजोडी दिनुहोला। विकासलाई कमजोर पार्ने कुरामा हामी कसैसँग सम्झौता गर्दैनौं।’ 

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पटक–पटक काठमाडौं उपत्यकाका सडक भत्काउने समस्या समाधानका लागि पनि पहल थालेका छन्। मन्त्रालय र सडक विभागले बनाएका सडक विभिन्न निकायले भत्काउने र टाल्ने गरेको भन्दै आलोचना भइरहेका बेला उनको पहल सुरु भएको हो।

श्रेष्ठले समस्या समाधानका लागि मन्त्रालयमा सरोकारवाला निकायका पदाधिकारी बोलाएर छलफल गरे। सडक विभागले बनाएका सडक प्राधिकरण, खानेपानी, दूरसञ्चारजस्ता सरकारी निकायले नै भत्काउने गरेको भन्दै आलोचना भइरहेका बेला श्रेष्ठले समन्वयमा काम गर्न भविष्यमा त्यस्तो हुन नदिन बैठक आयोजना गरिएको हो। 
 

विशेष