News

५ सर्तसहित सन्दिप लामिछाने आज कारागार मुक्त हुँदै

५ सर्तसहित सन्दिप लामिछाने आज कारागार मुक्त हुँदै

बालिका बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुँदैछन् । उच्च अदालत पाटनले उनलाई ससर्त धरौटीमा रिहा गर्न आदेश दिएको छ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेश जिल्ला अदालत काठमाडौं हुँदै केन्द्रीय कारागारसम्म आइपुग्नु पर्ने भएकाले उनी बिहीबार छुट्न सकेनन् । जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सो आदेश अनुसार उनी केन्द्रीय कारागारमा छन् । 

जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । लामिछानेलाई धरौटीमा छाड्न अदालतले ५ वटा सर्त राखेको छ । ती सर्त उलंघन भएको अवस्थामा पुर्पक्षका क्रममा धरौटी माग गर्ने आदेश स्वतः निष्कृय हुने भनिएको छ ।

लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । अदालतले न्यायिक कारबाहीलाई शीघ्र टुंगोमा पु¥याउने जिकिरसहित ‘न्याय प्रशासन सम्बन्धी अन्तरनिहीत अधिकार’ प्रयोग गर्दै सर्तहरु राखिएको बताएको छ ।

आदेशमा सन्दीपलाई विदेश जान रोक लगाउने गरी राहदानी रोक्का राख्न भनिएको छ भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी गर्न रोक लगाएको छ । पीडितको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्न बन्देज लगाएको छ ।

उपत्यका छाड्न पनि रोक लगाएको छ । उपत्यका छाड्नुपर्ने भए जिल्ला प्रहरी परिसर, काठमाडौंलाई लिखित जानकारी दिनुपर्ने भनिएको छ । सर्तहरुको प्रभावकारिताका लागि लामिछानेको गतिविधिमाथि निगरानी राख्न प्रहरीलाई निर्देशन दिइएको छ ।
गत भदौ २१ गते एक नाबालिकाले सन्दीपविरुद्ध गौशाला प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यतिबेला क्यारेबियन लिग खेल्न जमैका पुगेका लामिछाने २० असोजमा नेपाल फर्किएका थिए । उनलाई सोही दिन प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । 
 

विशेष