News

राष्ट्रपतिको निर्वाचनमा प्रचण्डले धोका दिन सक्ने ओलीको आशंका

राष्ट्रपतिको निर्वाचनमा प्रचण्डले धोका दिन सक्ने ओलीको आशंका

सत्ता गठबन्धनको नेतृत्व गरेको एमाले यतिवेला प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्षसँग झस्किएको छ। नेपाली कांग्रेसले बिनासर्त सरकारलाई विश्वासको मत दिने निर्णय गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली उकुसमुकुस भएका हुन्।

प्रधानमन्त्री दाहालले धोका दिन सक्ने ओलीको आँकलन छ। यद्यपी दाहालले आफु ‘समझदारीमा पूर्ण प्रतिबद्ध’ भएको भन्दै ओलीलाई विश्वस्त हुन आग्रह गरेका छन् । खासगरी राष्ट्रपति निर्वाचनमा धोका हुने हो कि भन्नेमा ओली सचेत देखिएका छन्। माघ ५ मा सभामुखको निर्वाचनपछि एमालेको सम्पूर्ण ध्यान राष्ट्रपति निर्वाचनमा केन्द्रित हुने देखिन्छ ।

कांग्रेसले बिनासर्त सरकारलाई समर्थन गर्नुको रहस्य राष्ट्रपति निर्वाचनसँग जोडिएको एमालेको आशंका छ । कांग्रेस नेता शेखर कोईरालाले विहिवार विराटनगरबाट यसको खुलासा समेत गरिसकेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर सरकारलाई विश्वासको मत दिएको उनले वताएका छन्।

एमालेले समर्थन नगर्दा दाहाल सरकार नढल्ने भएकाले पनि दाहालले राष्ट्रपति निर्वाचनसम्म दोहोरो चाल चाल्ने हुन् कि भन्ने एमालेको आशंका छ । एमालेका एक पदाधिकारीका अनुसार दाहाललाई प्रधानमन्त्रीका रूपमा समर्थन गर्नुअघि अध्यक्ष ओली पाँच वर्ष प्रतिपक्षमा बस्दा पार्टीलाई ठूलो क्षति हुने निष्कर्षमा पुगिसकेका थिए ।

राष्ट्रपति एमालेलाई दिने सर्तमा कांग्रेसलाई समर्थन गर्ने मनस्थितिमा ओली थिए तर कांग्रेस–माओवादीको गठबन्धन नभत्किँदासम्म त्यो सम्भव थिएन । माओवादीसहितको नयाँ गठबन्धन बनेपछि एमालेले संघका कम्तीमा ८ मन्त्रालय, प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा मुख्यमन्त्री, मधेस र कर्णाली प्रदेशसभामा सभामुख पाएको छ ।

प्रदेशमा एमाले नेताहरू थप मन्त्री हुनेछन । राष्ट्रपति र प्रतिनिधिसभामा सभामुख पनि एमालेले पाउनेछ । माओवादीले वाग्मती र कर्णालीमा मुख्यमन्त्रीसहित प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा सभामुख पाउनेछ ।

यता, सरकारले विश्वासको मत लिएलगत्तै गठबन्धन भत्काउन चलखेल सुरु भएको बुझाइ एमालेभित्र छ । दाहालनिकट एक नेताले पनि कांग्रेससित माओवादीको दूरी नबढ्ने बताएका छन्। माओवादी अझै पनि ओलीको बोली, व्यवहार लागू हुनेमा विश्वस्त हुन सकेको छैन । त्यसैले माघ ५ मा हुने सभामुखको निर्वाचन र राष्ट्रपति निर्वाचनमा दाहालले धोका दिन सक्ने भयले एमालेका नेताहरु त्रसित भएका छन्। 
 

विशेष