News

प्रदेश १ मा 'कान्छा ज्वाईँ’ सहित ३ मन्त्री थपेर मन्त्रिमण्डल विस्तार

प्रदेश १ मा 'कान्छा ज्वाईँ’ सहित ३ मन्त्री थपेर मन्त्रिमण्डल विस्तार

लामो रस्साकस्सीपछि प्रदेश १ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका कान्छा ज्वाईं जीवन आचार्य मन्त्री बनेका छन् । अध्यक्षको ज्वाईं भएकै कारण जनयुद्धका पुराना नेता गणेश उप्रेतीलाई पन्छाएर आचार्य मन्त्री बनेको चर्चा छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज माओवादी केन्द्रका दुई र नेकपा एमालेका एकजना मन्त्री थपेर क्याबिनेट बिस्तार गर्दा मोरङका आचार्य पनि परेका हुन् । आचार्यसँगै माओवादी केन्द्रबाट तेह्रथुमका दुर्गा चापागाईँ र एमालेबाट सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी पनि मन्त्री भएका छन् ।

थप तीन मन्त्रीले शुक्रबार शपथ लिएसँगै यस प्रदेशमा ७ सदस्यीय मन्त्रिमण्डल बनेको छ । यसअघि आलोपालोको माग गर्दै सरकारमा नजाने निर्णय गरेको माओवादी आजबाट सहभागी भएको छ ।

पार्टीमा लामो योगदान गरेका इमान्दारहरुलाई रोकेर अध्यक्षको परिवारका सदस्यलाई मन्त्री बनाउन चलखेल भएको भन्दै यसअघि माओवादीमा चर्को विवाद थियो । आधा दर्जनबढी नेता मन्त्रीको आकांक्षी देखिएका थिए।

माओवादीले विगतमा आफूले अभ्यास गरेको लिम्बुवान, किराँत र कोचिलाबाट प्रतिनिधित्व नछुट्ने गरी मन्त्री छान्ने मापदण्ड बनाएको थियो । तर, मोरङकै पुराना नेता गणेश उप्रेतीसमेत मन्त्रीको दाबेदार हुँदा आचार्यलाई छान्न प्रदेश कमिटीलाई सकस परेको थियो । 

जुनियर भएको भन्दै आचार्यलाई प्रदेशको नेतृत्वले मन्त्री बनाउन नखोजेपनि हाइकमाण्डको निर्देशनमा उनी नियुक्त भएको माओवादीका एक नेताले बताएका छन् । एउटै प्रदेश र जिल्ला अनि दुबै खस–आर्य समुदायको भएकाले दुईमध्ये एक जना मात्र छानिने मापदण्डअनुसार आचार्य मन्त्री बनेका हुन् । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका उनी प्रचण्डकी कान्छी छोरी गंगाका श्रीमान हुन् । 

एमालेका तीलकुमार मेन्याङ्बो (ताप्लेजुङ), राप्रापाका भक्तिप्रसाद सिटौला (झापा) र जसपाकी निर्मला लिम्बू (ताप्लेजुङ) लाई यसअघि मन्त्री बनाइसकिएको छ । उनिहरुको जिम्मेवारी तोकिएको छैन।

विशेष