News विदेश

गोप्य सरकारी दस्ताबेज घरमा फेला परेपछि अप्ठ्यारोमा अमेरिकी राष्ट्रपति

गोप्य सरकारी दस्ताबेज घरमा फेला परेपछि अप्ठ्यारोमा अमेरिकी राष्ट्रपति

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनको निवासमा गोप्य सरकारी दस्ताबेजहरू फेला परेपछि महान्यायाधिवक्ता मेरिक गार्ल्यान्डले त्यसबारे छानबिन गर्न एक विशेष अनुसन्धानकर्ता नियुक्त गरेका छन्।

पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालमा न्याय मन्त्रालयमा काम गरेका रोबर्ट हुरको नेतृत्वमा अनुसन्धान अनुसन्धान हुनेछ। बाइडनको निवास र यसअघि उपराष्ट्रपतिको कार्यकाल सकिएपछि उनले प्रयोग गरेको कार्यालयमा वर्गीकृत दस्ताबेजहरू भेटिएका थिए।

राष्ट्रपति कार्यालयले बाइडनने अनुसन्धानलाई पूर्ण सहयोग गर्ने जनाएको छ। गोप्य दस्ताबेज राम्ररी नसम्हालेको आरोपमा पूर्वराष्ट्रपति ट्रम्पमाथि छानबिन चलिरहेका बेला बाइडनको निवास र कार्यालयमा संवेदनशील कागतपत्रहरू फेला परेपछि उनी राजनीतिक रूपमा अप्ठ्यारोमा पर्ने ठानिएको छ।

यस्ता दस्ताबेजहरू सबैभन्दा पहिले नोभेम्बर २ मा बाइडनले स्थापना गरेको थिङ्क ट्याङ्क कार्यालय ‘पेन बाइडन सेन्टर’मा फेला परेका थिए। बाइडनले राष्ट्रिय अभिलेखालयलाई ती दस्ताबेज हस्तान्तरण गरिएको बताएका छन्।

दोस्रो चरणमा यस्ता फाइलहरू डेलावेअरको विल्मिङ्टनस्थित बाइडनको निवासमा डिसेम्बर २० मा भेटिएका थिए। बिहीवार पनि उनको निवासमा थप कागजपत्र फेला परेको जानकारी अनुसन्धानकर्ताहरूलाई उनका वकिलहरूले दिएका थिए। ‘असाधारण परिस्थिति’ लाई ध्यानमा राख्दै छानबिन गर्न विशेष अनुसन्धानकर्ता आवश्यक भएको गार्ल्यान्डले बताए।

‘यो नियुक्तिले संवेदनशील विषयमा मन्त्रालयको स्वतन्त्रता र उत्तरदायित्वको प्रतिबद्धता अनि तथ्य र कानुनका आधारमा निर्विवाद निर्णय हुने कुरामा जोड दिन्छ’ उनले भने। हुरले ‘स्वच्छ, निष्पक्ष र पूर्वाग्रहरहित’ छानबिन गर्ने बताएका छन्।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसका वकिलले बाइडनले छानबिनमा पूर्ण रूपमा सहयोग गरिरहेको त्यसलाई जारी राख्ने बताएका छन्। ‘ती कागजपत्रहरू भुलवश गलत ठाउँमा परेका हुन् र गहन छानबिनबाट राष्ट्रपति र वकिलहरूले त्यो गल्ती थाहा पाउनासाथ आफ्नो तर्फबाट आवश्यक कदम चालेको देखिनेमा हामी ढुक्क छौँ’ ह्वाइट हाउसका वकिल रिचर्ड सौबरले भने।

जानकार स्रोतहरूले ती कागजपत्रहरू कसरी राखिएको थियो भन्ने विषयमा जानकार व्यक्तिहरूसँग सोधपुछ समेत गरिसकेको बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई बताएका छन्। बिहीवार पत्रकारहरूसँग कुरा गर्दै बाइडनले उनका वकिलहरूले नै कागजपत्र भेटिएको जानकारी अधिकारीहरूलाई गराएको र यसलाई आफूले गम्भीर रूपमा लिएको बताएका छन्।

ग्यारेजमा भेटिए कागजपत्र
बाइडनका अनुसार भेटिएका थप कागजपत्रहरू उनको पुरानो कारसँगै रहेको ग्यारेजमा ताला लगाएर राखिएको अवस्थामा भेटिएका थिए। त्यहाँ भेटिएकामध्ये केही कागजपत्र ओबामा–बाइडन कार्यकालका रहेको र गोप्य दस्ताबेजको रूपमा वर्गीकृत गरिएको साउबरले बताएका छन्।

कानुन व्यवसायीहरूले बाइडनको अर्को घरमा पनि खोजी गरेका थिए। तर त्यहाँ त्यस्तो सामग्री नभेटिएको बताइएको छ। भेटिएका कागजपत्रमा रहेको हुनसक्ने संवेदनशील सूचना र त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षालाई पार्न सक्ने खतराका कारण बाइडन प्रश्नको घेरामा परेका छन्।

कागजपत्र भेटिएपछि आशङ्का 
तल्लो सदनका रिपब्लिकन सभामुख केभिन मक्कार्थीले पनि बाइडनको निवासमा भेटिएका कागजपत्र र त्यसको समयबारे चासो व्यक्त गरेका छन्। ‘मध्यावधि निर्वाचनअघि नै राष्ट्रपति बाइडन यसमा संलग्न थिए भन्ने उनीहरूलाई थाहा थियो। तर उनीहरूले जनतासँग यो कुरा लुकाएर राखे’ उनले भने।

बाइडनका पूर्ववर्ती राष्ट्रपति ट्रम्पमाथि पनि अमेरिकी न्याय मन्त्रालयले छानबिन गरिरहेको छ। एफबीआईका अधिकारीहरूले फ्लोरिडास्थित उनको निवासमा ३२५ वटा गोप्य र अतिगोप्य वर्गीकरण गरिएका कागजातहरू भेटिएपछि ट्रम्पमाथि अनुसन्धान अघि बढेको थियो।

ट्रम्पले कागजपत्रहरू नष्ट गरे वा नगरेकोबारे अनुसन्धान भइरहेको छ। तर उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन्।

को हुन् रोबर्ट हुर
रोबर्ट हुर अनुभवी वकिल हुन्। उनले ट्रम्प सरकारमा पनि काम गरेका थिए। सन् २०१८ मा डोनल्ड ट्रम्पले हुरलाई मेरील्यान्ड राज्यमा सङ्घीय कानुन कार्यान्वयन गराउने प्रमुख अधिकारी नियुक्त गरेका थिए।

ट्रम्पको कार्यकाल सकिएपछि हुरले सरकारी कामबाट सन् २०२१ मा बिदा लिए। स्वार्थ बाझिने देखिएका विषयमा छानबिन गर्न अमेरिकी न्याय मन्त्रालयले विशेष अनुसन्धानकर्ता नियुक्त गर्छ।

हुरलाई उक्त भूमिका दिँदै अमेरिकी महान्यायाधिवक्ता मेरिक गार्ल्यान्डले बाइडनबारे छानबिन गर्न विशेष अनुसन्धानकर्ता नियुक्त गर्नु “सार्वजनिक हित“ मा हुने बताएका थिए। ट्रम्पले वर्गीकृत सूचनाहरू राम्ररी नसम्हालेको आरोप लागेपछि युद्ध अपराधसम्बन्धी विषयका वरिष्ठ अभियोजनकर्ता ज्याक स्मिथलाई विशेष अनुसन्धानकर्ता नियुक्त गरिएको थियो।

हुरले हार्भर्ड कलेज र स्ट्यान्फर्ड ल स्कूलमा अध्ययन गरेका थिए। सरकारी काम छोडेपछि वकिलका रूपमा काम गरिरहेका थिए। मेरील्यान्ड राज्यमा काम गर्नुअघि उनी तात्कालिक सहायक महान्यायाधिवक्ताका प्रमुख सहयोगी थिए।

सङ्घीय अभियोजनकर्ताका रूपमा एक दशक काम गर्दा हुरले राष्ट्रिय सुरक्षा, सार्वजनिक भ्रष्टाचार र अन्य विषयसँग सम्बन्धित मुद्दाहरू हेरेका थिए।
यो सामग्री बीबीसी नेपालीबाट साभार गरिएको हो। 

विशेष