एमाले नेता भन्छन्– राजनीतिक स्थायित्वका लागि राजनीतिक गठबन्धनमा पुनर्विचार गर्नुपर्छ
![एमाले नेता भन्छन्– राजनीतिक स्थायित्वका लागि राजनीतिक गठबन्धनमा पुनर्विचार गर्नुपर्छ](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/netrapaudel_34/2019/03/pradeep-gyawali.jpg)
नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्वका लागि अहिलेको राजनीतिक गठबन्धनमा पुनर्विचार गर्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित सत्ता संघर्ष ३० वर्षमा २८ सरकारको नालीबेली पुस्तकको लोकार्पण गर्दै ज्ञवालीले यस्तो बताएका हुन। उनले मुलुकमा छिटो–छिटो सरकार परिवर्तन हुने दीर्घरोग भएको र यसको अन्त्यका लागि अहिलेको प्रणाली वा राजनीतिक गठबन्धनमा पुनर्विचार गर्नुपर्ने बताए।
प्रत्यक्ष र समानुपातिकको मिश्रित निर्वाचन प्रणालीको अभ्यास गर्दा भरपर्दो एलाइन्स बनाउनुपर्ने उल्लेख गरेका ज्ञवालीले दलीय असफलताका लागि निर्वाचन प्रणालीको कानूनलाई परिवर्तन गर्ने सोच राख्नु उपयुक्त नहुने बताए।
ज्ञवालीले निर्वाचन अघि बन्ने एलाइन्स परिणामपछि लगतै भत्किने देखिएको र यस्तो अवस्थामा राजनीतिक स्थायित्वको खोजी प्राज्ञिक ढंगले गर्नुपर्ने धारणा राखे। ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था रहेको बताउँदै मुलुकमा राजनीतिक स्थायित्वको नाममा राजनीतिक प्रणालीमा भने पुनर्विचार गरेर जाने अवस्था तत्कालका लागि नभएकोतर्फ पनि सचेत गराए।
‘निर्वाचनमा मतदाताले एउटा एलाइन्समा भोट हाल्छन्। तर, काठमाडौं आइपुग्दा नपुग्दै एलाइन्सहरू भत्किन्छन्। र, फेरि नयाँ ढंगले एउटा कोर्स सुरु हुन्छ भने यो अहिलेको हाम्रो निर्वाचन प्रणाली र एलाइन्सहरू टिकाउ हुन नसकेको स्थितिमा राजनीतिक स्थायित्वको खोजी हामीले कसरी गर्ने?’– उनले प्रश्न गरे।