News

टिममा फर्किदैछन् सन्दीप लामिछाने?, यस्तो सम्भावना

टिममा फर्किदैछन् सन्दीप लामिछाने?, यस्तो सम्भावना

बालिका बलात्कार आरोपित सन्दीप लामिछाने २० लाख धरौटी तिरेर शुक्रवार थुनामुक्त भएपछि छिट्टै खेलमा फर्कने वताए । तर, मुद्दाको किनारा लागिनसकेका कारण टिममा फर्कन मिल्ने वा नमिल्ने टुङ्गो लागि सकेको छैन।

अहिले राष्ट्रिय क्रिकेट टिमबाट सन्दीप निलम्बनमा छन्। बलात्कारको आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो। सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा गरेर राष्ट्रिय टिममा फर्काउन मिल्ने वा नमिल्ने विषयमा क्यानले कानुन व्यवसायीसँग छलफल गर्ने भएको छ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार यो विषयमा क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग पनि सुझाव माग्नेछ। त्यसपछि मात्र क्यानले निर्णय गर्ने क्यान अध्यक्ष चतुरबहादुर चन्दको भनाइ छ। 

तर, सन्दीपलाई टिममा फर्काउन नेपाल क्रिकेट संघ (क्यान) ले थालेको परामर्शले विभिन्न प्रश्न जन्माएको छ । उच्च अदालतले दिएको आदेश र सर्तबारे लामिछानेलाई जानकारी गराएपछि उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले शुक्रबार बिहान क्यानले सन्दीपलाई राष्ट्रिय टिमको कप्तानमै पुनर्बहाली गर्नुपर्ने बताएका थिए ।

बिहीबार उच्च अदालतले थुनामुक्त गर्ने आदेश दिएपछि पनि क्यानले लामिछानेलाई भदौमा जुन आधारमा निलम्बन गरेको थियो, त्यो आधार बदलिएको छैन । उनीविरुद्ध उजुरी दर्ता भएपछि उनी पक्राउ नपर्दै क्यानले निलम्बनको निर्णय गरेको थियो । त्यसपछि प्रहरीले अनुसन्धान गरेर जिल्ला अदालतमा मुद्दा नै दर्ता गरिसकेको छ ।

काठमाडौं जिल्ला अदालतले ‘तत्काल प्राप्त प्रमाणका आधारमा लामिछाने दोषी हुन सक्ने’ भन्दै उनलाई थुनामा राख्ने आदेश दिएको थियो । धरौटीमा थुनामुक्त गर्ने बिहीबारको उच्च अदालतको आदेशमा पनि ‘तत्काल प्राप्त प्रमाणमा लामिछाने दोषी देखिन सक्ने’ अवस्थालाई स्वीकार गरिएको छ । उच्च अदालतले लामिछानेलाई उनको मुद्दाको बाँकी सुनुवाइको अवधिभर थुनामा राख्न जरुरी छैन मात्र भनेको हो । त्यसैले क्यानले जुन आधारमा निलम्बनको निर्णय गरेको थियो, त्यसमा तात्विक परिवर्तन नआउँदै निलम्बन फुकुवा गर्ने गरी क्यान हतारिएको देखिएको छ।

बलात्कारजस्तो जघन्य अपराधको अभियोग लागेर अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा त्यसबाट सफाइ नपाउँदै कुनै पनि खेलाडीलाई राष्ट्रिय टिममा फर्काइयो भने त्यसले थप गम्भीर प्रश्नहरू निम्त्याउँने जानकारहरु वताउँछन।

साधारण तारिखमा छाड्न लामिछानेका कानुन व्यवसायीले गरेको अनुरोधमा असहमति जनाउँदै उच्च अदालतले भनेको छ, ‘क्रिकेट प्रतियोगिताका लागि नेपालका तर्फबाट भोलिपल्ट विदेश जानुपर्ने महत्वपूर्ण जिम्मेवारीमा रहेका प्रतिवादीले त्यसतर्फ सामान्य सतर्कता पनि नअपनाई अघिल्लो दिन पीडितसँग नगरकोट घुम्न जानु, होटलमा गई रातभर एकै कोठामा रहनु र प्रतिवादीविरुद्ध बलात्कारको आरोपमा किटानी जाहेरी दर्ता हुनु मात्र पनि गम्भीर र संवेदनशील विषय हो । प्रस्तुत घटनाको प्रकृति जति संवेदनशील छ, प्रतिवादीको व्यवहार, आचरण र प्रस्तुति उति नै शंकास्पद र अनुचितसमेत छ ।’

अदालतको यस्तो ‘न्यायिक नोट’ का बाबजुद लामिछानेलाई लागेको अभियोगको अन्तिम टुंगो लाग्नु अगावै तत्कालै राष्ट्रिय टिममा फर्काउने क्यानको हतारो पनि उत्तिकै शंकास्पद देखिन्छ ।

उच्च अदालत पाटनले बिहीबार दिएको आदेशबमोजिम लामिछाने शुक्रबार २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका छन । काठमाडौं जिल्ला अदालतले मुद्दाको अन्तिम टुंगो नलागेसम्म थुनामै राख्न कात्तिक १८ मा दिएको आदेशलाई उल्ट्याउँदै उच्चले तारिखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । लामिछानेले देशको प्रतिनिधित्व गर्दै ५ ट्वान्टी–२० अन्तर्राष्ट्रियका लागि केन्या उड्नु अघिल्लो साँझ गत भदौ ५ मा तिलगंगास्थित एक होटलमा लगेर १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ ।

केन्याको खेल सकेर जमैका गई क्यारेबियन प्रिमियम लिग खेलिरहेका बेला भदौ २१ मा उनीमाथि उजुरी परेको थियो । प्रहरीले उजुरी दर्ता गरेर उनलाई पक्राउ गर्ने अनुमति काठमाडौं जिल्ला अदालतबाट पाएलगत्तै क्यानले राष्ट्रिय टिमको खेलाडी र कप्तानबाट निलम्बन गरेको थियो । पक्राउ गर्न अदालतले अनुमति दिनेबित्तिकै जमैकामा लामिछाने आबद्ध टिम जमैका तलावाजले उनलाई टिम सदस्यबाट हटाएको थियो । 

यो पनि,

सन्दीप लामिछाने

विशेष