News

काठमाण्डौंमा वसेर अपहरणको श्रृंखला चलाउने ३ पाकिस्तानी पक्राउ

काठमाण्डौंमा वसेर अपहरणको श्रृंखला चलाउने ३ पाकिस्तानी पक्राउ

काठमाडौंमा बसेर अपहरणको श्रृंखला मच्चाई रहेका तीन जना पाकिस्तानीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले एक व्यक्तिलाई अपहरण गरी २५ लाख रुपैयाँ फिरौती लिएको प्रहरीको आरोप छ।

बूढानिलकण्ठ नगरपालिका–४ बस्ने ३० वर्षीय मुहम्मद रासिद, ३५ वर्षीय मुहम्मद आसिफ र ३५ वर्षीय मुहम्मद फिदा हुसैनलाई पाकिस्तानी नागरिकलाई नै अपहरण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले सामाजिक सञ्जाल मार्फत वैदेशिक रोजगारीको लागि क्यानडा जान नेपालबाट सजिलो हुन्छ, सबै प्रक्रिया काठमाडौंमा नै पुरा गर्नु पर्छ भनि पाकिस्तानी नागरिक मोहम्मद सामी खानलाई पाकिस्तानबाट भिजिट भिसामा नेपाल पठाइ ठमेलस्थित होटलमा राखेका थिए।

पुस २४ गते बायोमेट्रिक लगायतका प्रक्रिया गर्न होटलबाट ट्याक्सीमा राखी बूढानीलकण्ठस्थित भाडाको घरमा पुर्याएर आँखामा पट्टी बाँधी हातखुट्टा प्लाष्टिकको डोरीले बाँधी बोल्न कराउन नदिई बन्धक बनाएका थिए।

त्यसपछि पाकिस्तानमा रहेका पीडितका भाइलाई अब मेरो क्यानाडाको लागि फ्लाईट छ, ३० घण्टा मोबाइल अफ हुन्छ, सम्पर्क हुँदैन भन्ने म्यासेज पठाउन लगाएर, ३० घण्टा पछि पुनः म क्यानाडा पुगेँ, इमिग्रेसनमा रोकेको छ, पैसा दिएपछि मात्र प्रवेश दिन्छ भन्ने म्यासेज पठाउन लगाइएको पाईएको छ। 

दाजुको म्यासेज आएपछि पीडितका भाइले पाकिस्तानमा ३० लाख पाकिस्तानी रुपियाँ र २४ हजार दिरामसमेत गरी जम्मा २५ लाख ६६ हजार ६९७ नेपाली रुपैयाँ फिरौती रकम बुझाए पश्चात पीडितलाई पुस २६ गते राति ट्याक्सीमा राखी सिनामंगल स्थित सडकमा छोडिएको थियो।

पीडितले पर्यटक प्रहरीमा घटनाका सम्बन्धमा निवेदन दिएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी परिसर काठमाडौंसँ समेत समन्वय गरी संलग्न व्यक्तिहरूको खोजतलास गरेको थियो।

सोही क्रममा पुस २८ गते बूढानीलकण्ठ नगरपालिका–४ स्थित भाडाको घरबाट उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनिहरुलाई अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त, महाराजगंजमा राखिएको छ। 

विशेष