News

कसरी प्रतिनिधि सभा सदस्यभन्दा वढि सुविधा पाउँछन प्रदेश १ का सांसद ?

कसरी प्रतिनिधि सभा सदस्यभन्दा वढि सुविधा पाउँछन प्रदेश १ का सांसद ?

मुलुकमा संघीयता लागू भएपछि सात मध्ये ६ वटा प्रदेश सभामा आफनो प्रदेशको नामाकरण र राजधानीको विषय लगभग टुङ्गो लगाएका छन्। तर, ५ वर्षको अवधिमा पनि प्रदेश १ को भने नामाकरण हुन सकेन।

तर, सोही प्रदेशका सांसदहरु भने संघीय सांसदको भन्दा वढि सेवा सुविधा लिने गरेका छन्। प्रतिनिधि सभा सदस्यले भने मासिक पारिश्रमीकको रुपमा ६६ हजार ७० रुपैयाँ, मासिक रुपमा विशेष भत्ता बापत १ हजार रुपैयाँ, सञ्चार सुविधा बापत ३ हजार रुपैयाँ र धारा, पानीको नाममा २ हजार रुपैयाँ गरी मासिक रुपमा एकमुष्ट ७२ हजार ७० रुपैयाँ पाउँछन्।   

आवास सुविधा भनेर काठमाडौं उपत्यकामा घर नहुने सांसदहरुले मासिक १८ हजार रुपैयाँ पाउनेछन् भने काठमाडौं उपत्यकामा घर हुनेहरुले ९ हजार रुपैयाँ मात्र पाउँछन्। सांसद निर्वाचित भएर आइसकेपछि एकपटकका लागि फर्निचरका लागि एकमुष्ट १५ हजार रुपैयाँ दिइन्छ।

प्रदेश १ का सांसदले भने फर्निचर बापत २० हजार र विराटनगरदेखि १५ किलोमिटरभित्र उपयुक्त घर नभएकालाई आवास सुविधा वापत मासिक १९ हजार उपलब्ध गराउने व्यवस्था छ। घर भएकालाई वार्षिक एकमुष्ट मर्मत खर्च ६० हजार उपलब्ध गराउने व्यवस्था छ।

प्रदेश सांसदले प्रतिमहिना पारिश्रमिक ५३ हजार १ सय, बैठक भत्ता एक हजार, टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि २ हजार ५ सय, प्रदेशसभा र संसदीय समितिको बैठकमा सहभागी भएका दिन यातायात खर्च २५० रुपैयाँ पाउने व्यवस्था छ।

प्रदेश सांसदहरुलाई सुब्बा सरहका स्वकीय सचिव, बिजुली, धारा महशुल १ हजार ५ सय, दैनिक भ्रमण भत्ता २ हजार, विदेश भ्रमण गर्दा दैनिक १७५ अमेरिकी डलर र १० लाखको यात्रा बीमाको सुविधा रहेको छ।

सभामुखलाई मासिक पारिश्रमिक ६२ हजार ५४०, बैठक भत्ता दैनिक १ हजार, सञ्चार सुविधा ४ हजार, आवास, गाडी, इन्धन १५० लिटर, मोविल १० लिटर, बिजुली, धारा महशुल २ हजार ५ सय, दैनिक भ्रमण भत्ता २ हजार ५ सय, फर्निचर, अतिथि सत्कार ७ हजार, स्वकीय सचिव अधिकृत, सुब्बा, सूचना प्रविधिका लागि खरिदार सरह १र१ जना, श्रेणी विहिन प्रथम स्तरका सवारी चालक र कार्यालय र आवास सहयोगी २ जना उपलब्ध गराउने व्यवस्था छ।

विदेश भ्रमण गर्दा दैनिक भत्ता २ सय अमेरिकी डलर र यात्रा बीमाको सुविधा रहेको छ। उपसभामुखलाई मासिक पारिश्रमिक ५९ हजार, बैठक भत्ता दैनिक १ हजार, सञ्चार सुविधा ३ हजार, आवास सुविधा, फर्निचर उपलब्ध गराउने र नभए एकमुष्ट २० हजार, सवारी, मासिक इन्धन १२५ लिटर, मोबिल ५ लिटर, बिजुली, धारा महशुल २ हजार, अतिथि सत्कार ५ हजार, दैनिक भ्रमण भत्ता २ हजार, स्वकीय सचिव सुब्बा सरह, श्रेणी बिहिन प्रथम स्तरका सवारी चालक र कार्यालय सहयोगी १÷१ जना उपलब्ध गराउने व्यवस्था छ।

यसैगरी, प्रमुख प्रतिपक्षी दलका नेतालाई मासिक पारिश्रमिक ५९ हजार, बैठक भत्ता दैनिक १ हजार, सञ्चार सुविधा ३ हजार, आवास सुविधा २१ हजार, फर्निचरका लागि एकमुष्ट २० हजार, सवारी, मासिक इन्धन १२५ लिटर, मोविल ५ लिटर, बिजुली, धारा महशुल १ हजार ५ सय, अतिथि सत्कार ५ हजार, दैनिक भ्रमण भत्ता २ हजार, स्वकीय सचिव सुब्बा सरह, श्रेणीविहीन प्रथम स्तरका सवारी उपलब्ध गराउने व्यवस्था छ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकलाई मासिक पारिश्रमिक ५७ हजार ८२०, बैठक भत्ता दैनिक १ हजार, सञ्चार सुविधा ३ हजार, आवास सुविधा १९ हजार, फर्निचरका लागि एकमुष्ट २० हजार, सवारी, मासिक इन्धन १२५ लिटर, मोविल ५ लिटर, बिजुली, धारा महशुल १ हजार ५ सय, दैनिक भ्रमण भत्ता २ हजार रुपैयाँ, स्वकीय सचिव सुब्बा सरह, श्रेणीविहीन प्रथम स्तरका सवारी उपलब्ध गराउने व्यवस्था छ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सचेतकलाई मासिक पारिश्रमिक ५७ हजार ८२०, बैठक भत्ता दैनिक १ हजार, सञ्चार सुविधा ३ हजार, आवास सुविधा १९ हजार, फर्निचरका लागि एकमुष्ट २० हजार, यातायात खर्च मासिक ७ हजार ५ सय, बिजुली, धारा महशुल १ हजार ५ सय, दैनिक भ्रमण भत्ता २ हजार, स्वकीय सचिव सुब्बा सरह उपलब्ध गराउने व्यवस्था छ।

उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, प्रमुख सचेतक र सचेतकले विदेश भ्रमण गर्दा दैनिक भत्ता १७५ अमेरिकी डलर र यात्रा बीमा १९ लाख रुपैयाँको सुविधा रहेको छ। 

विशेष