News विदेश

एकै महिनामा ६० हजार चिनियाँ नागरिकको कोरोना संक्रमणबाट मृत्यु

एकै महिनामा ६० हजार चिनियाँ नागरिकको कोरोना संक्रमणबाट मृत्यु

चीनमा पछिल्लो एक महिनामा मात्रै करिब ६० हजार जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा कुल ५९ हजार ९३८ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगअन्तर्गतको चिकित्सा प्रशासन ब्यूरोका प्रमुख जियाओ याहुईका अनुसार चीनमा सुरु भएको पछिल्लो लकडाउन खुकुलो भएपछि सार्वजनकि भएको यो सबैभन्दा ठूलो संख्या हो ।

ब्युरोले सार्वजनिक गरेको आँकडा त्यहाँका स्वास्थ्य संस्थामा भएको रेकर्ड हो । मृतकको संख्या योभन्दा पनि बढी हुनसक्ने अनुमान गरिएको छ । जिआओका अनुसार ५,५०३ जनाको श्वासप्रश्वाससम्बन्धी समस्याका कारण र ५४ हजार ४३५ जनाको मृत्यु कोभिडसँग जोडिएका रोगका कारण भएको छ ।

चीनले यसअघि कोभिड–१९ का कारण हुने मृत्युको वर्गीकरण गर्ने पद्धतिमा संशोधन गर्दै भाइरसका कारण श्वासप्रश्वासमा समस्या भएर मृत्यु हुनेको मात्र गणना गर्ने बताएको थियो । तर विश्व स्वास्थ्य संगठनले यसको आलोचना गर्दै नयाँ परिभाषा ‘अत्यन्तै संकीर्ण’ भएको बताएको थियो ।

गत डिसेम्बरको सुरुमा शून्य कोभिड नीति त्यागेपछि चीनमाथि भाइरसका कारण मृत्यु हुनेको संख्यालाई कम आँकलन गरेको आरोप लाग्दै आएको छ । केही दिनअघि मात्रै त्यहाँका अधिकारीहरूले कोरोना संक्रमणले मृत्यु हुनेको यकिन संख्या लिन आवश्यक नभएको समेत बताएकका थिए ।

कोरोनाका कारण मृत्यु हुने ९० प्रतिशत ६५ वर्षमाथिको उमेरका रहेको चिनीयाँ दाबी छ ।
 

विशेष