News

के हो हिमानीले सुरु गरेको ‘शिक्षाका लागि १ रुपैयाँ अभियान’ ?

के हो हिमानीले सुरु गरेको ‘शिक्षाका लागि १ रुपैयाँ अभियान’ ?

पूर्वयुवराज्ञी हिमानी शाहले ‘शिक्षाका लागि एक रुपैयाँ अभियान’ सुरु गरेकी छिन्। लायन्स क्लब अफ धरान पाँचकन्याले सुरु गरेको उक्त अभियान शाहले शुक्रबार उदघाटन गरेकी हुन् ।

धरान–१५ बाझगरास्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा आयोजित अभियानको सुरुवात उनले रुद्राक्षका २ बिरुवा रोपेर गरेकी थिइन् । संकलित रकमले बालबालिकालाई छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गरिएको अभियानका संयोजक सम्राट श्रेष्ठले बताए ।

उनले अभियानअन्तर्गत ६ हजार कपी, स्नातकोत्तर अध्ययनरत एक दृष्टीविहीन पुरुष र एक महिलालाई पनि छात्रवृत्ति प्रदान गरिएको बताए । धरानबाट सुरु भएको यो अभियानलाई मुलुकभर सञ्चालन गर्ने लक्ष्य रहेको जनाईएको छ।

उक्त अवसरमा शाहले विद्यार्थीलाई पानी शुद्धीकरण गर्ने ७ सय ५६ वटा बोतलसहित शैक्षिक सामग्री, सेतो छडी र ब्यागसहित छात्रवृत्ति प्रदान गरिन् ।

यसैगरी, धरान–१६ जनपथस्थित पूर्वाञ्चल बहिरा विद्यालयमा पढ्नेलाई कान सुन्ने उपकरण, कक्षा ७ र ८ का विद्यार्थीलाई एक वर्षका लागि विद्याल एवं खेलकुद पोसाक, शैक्षिक एवं खेलकुद सामग्रीहरू तथा धरान–१७ स्थित पञ्चकन्या माविका सुकुम्बासी बस्तीका विद्यार्थीलाई शैक्षिक सामग्री र कम्बल वितरण गरेकी थिइन् ।

विशेष