सडक मार्गबाट चीन प्रवेश अझै ठप्प, नाका खुले पनि जम्मा ३१ ट्रक मात्रै निर्यात
![सडक मार्गबाट चीन प्रवेश अझै ठप्प, नाका खुले पनि जम्मा ३१ ट्रक मात्रै निर्यात](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/01/bhansar.jpg)
चीनले झन्डै तीन वर्षदेखि बन्द गरेको अन्तर्राष्ट्रिय सीमा खुला गर्ने निर्णय गरे पनि नेपालका स्थल नाकाहरूबाट अझैसम्म चीनतर्फ प्रवेश नदिइएको अधिकारीहरूले बताएका छन्।
कोभिड महामारीपछि सन् २०२० को मार्चबाट बन्द गरिएका सीमा खोल्ने निर्णय गरेको चीनले नेपालका व्यापारिक नाकाहरूबाट भने आवतजावतमा बन्देज कायमै राखेको छ। चीनसँग व्यापार हुने रसुवागढी नाका र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट अझैसम्म आवतजावत खुला नभएको अधिकारीहरूले बताए।
मुस्ताङको कोरला, संखवासभाको किमाथाङ्का लगायत चीनसँगका अन्य सीमा नाकाहरू कोभिडपछि अझैसम्म बन्द नै छन्। ‘रसुवागढी नाकाबाट आवतजावत खुलिसकेको छैन। खुलाउनका लागि पहलहरू भइरहेका छन्’ रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले भने।
सीमा नखुल्दा महँगो ढुवानी खर्च
मान्छेको आवतजावत नहुँदा सामान ढुवानीको खर्च बढेको रसुवास्थित टिमुरे भन्सार कार्यालयका प्रमुख नारायण प्रसाद भण्डारीले बताए। ‘गाडीहरू सिधै केरुङसम्म जान पाए भने लोड, अनलोड र ढुवानीको खर्च कम हुँदो रहेछ। तर नेपाली गाडीले सीमाबाटै पल्टी गर्नुपर्दा त्यसको पनि लागत बढ्ने र उताबाट आउने गाडीको पनि फेरि नेपाली गाडीमा सामान खन्याउँदा लागत बढ्ने रहेछ’–उनले भने।
“नेपाली गाडीलाई केरुङसम्म जान दिए केही खर्च घट्थ्यो।”
गृह, परराष्ट्र र वाणिज्य मन्त्रालयलाई चीनतर्फका नाकाबाट हुने आयात तथा निर्यात र आवतजावत सहज गरिदिन व्यवसायीहरूले माग गरिरहेका छन्।
निर्यात खुल्यो तर जम्मा ३१ गाडी सामान गयो
रसुवा भन्सार कार्यालयका अनुसार चीनले कोभिड मापदण्ड खुकुलो बनाएपछि नेपालको सामान पनि चीनतर्फ निर्यात सुरु भएको छ।
‘शुक्रवारसम्म ३१ वटा नेपाली गाडी चीनतर्फ गए। चीनले १५ दिनमा एक पल्ट नेपाली २० वटा गाडी (१० वटा कन्टेनर भरिने सामान) आयात गर्न दिने भनेर जानकारी आएको छ’ प्रमुख भन्सार अधिकृत भण्डारीले भने।
चीनबाट नेपालतर्फ दैनिक १४ वटा गाडी आउने गरेका छन्। त्यसमा अहिले कुनै हेरफेर नभएको उनले बताए। कोभिडअघिको समयमा रसुवास्थित नाकाबाट दिनहुँ जसो १०० ट्रक सामान नेपालतर्फ आपूर्ति हुने गरेको थियो।
‘नेपाली सामान पनि निर्यात हुन थालेको छ। उताबाट सीमामा ल्याएर गाडीमा खन्याउँछन्। यताबाट लैजाने पनि नेपाली गाडीले सीमामा खन्याउँछन् अनि चिनियाँ गाडीले लिएर जान्छ’ भण्डारीले भने।
नेपाली सामानको निर्यातमा कडाइ हुँदा चीनसँगको व्यापार घाटा उच्च देखिन्छ। भन्सार विभागका अनुसार साउन देखि मङ्सिरसम्मको पाँच महिनामा रसुवागढी नाकाबाट करिब ९५ अर्बको सामान आयात हुँदा जम्मा २४ करोडको मात्रै निर्यात भएको छ।
तातोपानी नाकाबाट दैनिक पाँच ट्रक आयात
वि.सं. २०७२ को भूकम्पपछि झन्डै चार वर्ष ठप्पजस्तै भएर खुलेको तातोपानी नाका पनि केही समयमै कोभिड महामारीको मारमा परेको छ। तातोपानी नाकामा कोभिडपूर्व दैनिक २० वटासम्म कन्टेनर आउने गरेकोमा अहिले भने पाँच वटा कन्टेनर मात्रै आउने गरेको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले जानकारी दिए।
‘पाँच सात दिन अघिसम्म तीन वटा मात्रै कन्टेनर सिगात्सेबाट आउने गर्थ्यो। अहिले तीनबाट पाँच बनाएको भन्ने खबर हामीलाई आएको छ। खासै फरक आइसकेको छैन’ उनले भने। भूकम्पपछिबाटै यो नाकाबाट यात्रुहरू आवतजावत पूर्ण रूपमा बन्द नै रहेको अधिकारीहरूले बताए।
अन्य नाकाको तुलनामा चीनबाट आयात गरिने सामानको ढुवानी खर्च र व्यावसायिक लागत कम हुने हुँदा व्यवसायीहरूले तातोपानीलाई आफ्नो प्राथमिकतामा राख्ने गरेका छन्। ‘रसुवाको तुलनामा यो नाका अलि सस्तो पनि छ। यहाँबाट काठमाण्डूसम्मको ढुवानी खर्च ३५ हजार मात्रै हो जबकि रसुवाबाट काठमाण्डूको भाडा एक लाख हो। चीनबाट नाकासम्म आउने भाडा दुवैतिर बराबर नै हो’ उनले भने।
दुई देशबीच व्यापारलाई प्रोत्साहन दिनका लागि तातोपानीमा निर्माण गरिएको सुक्खा बन्दरगाहसम्म चिनियाँ कन्टेनरहरू सिधै आउन सक्छन्। भूकम्पका कारण तातोपानी नाकामा सडक र अन्य पूर्वाधारमा ठूलो क्षति पुगे पनि अधिकांश संरचना पुनर्निर्माण भइसकेका छन्। अहिले तातोपानी नाकासम्म पुग्ने सडक पनि सहज रहेको अधिकारीहरू बताउँछन्।
तातोपानी र रसुवा दुवै नाकाबाट तयारी पोसाक, जुत्ता चप्पल, विद्युतीय उपकरण लगायतका सामाग्री ठूलो परिमाणमा भित्रिन सकेको छैन। नेपालले केही मात्रामा जडीबुटी, हस्तकलाका र खाद्य सामाग्री चीनतर्फ निर्यात गर्ने गरेको छ।
‘खुलाउने पहल भइरहेको छ’
नेपालमा नयाँ सरकार गठन भएको केही दिनमै चीनले कोभिड–१९ महामारीको समयदेखि अवरुद्ध रहेको रसुवागढी–केरुङ नाका सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। तर यो निर्णय नेपालमा नयाँ सरकार बन्नुसँग सम्बन्धित नरहेको अधिकारीहरूले बताएका थिए।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नाका पूर्ण मात्रामा सञ्चालन गर्न पहल भइरहेको बताइन्। ‘पूर्ण मात्रामा नाका खुलाउन नेपाली पक्ष प्रयत्नशील छ। यसका लागि उपयुक्त ठाउँमा जानकारी गराउने र पहल गर्ने काम भइरहेका छन्’ उनले भनिन्।
एक वर्षदेखि रिक्त रहेको नेपालस्थित चिनियाँ राजदूतमा चीनले हालै चेन सङलाई पठाएको छ। नयाँ राजदूतले नाका खुलाउन भइरहेका पहलमा सहजीकरण गर्ने विश्वास कतिपय अधिकारीहरूले गरेका छन्।
चीन अहिले कोभिड महामारीको नयाँ खालको लहरसँग जुझिरहेको छ। पछिल्लो एक महिनामा त्यहाँ कोरोनाभाइरसका कारण ६० हजार जना भन्दा बढीको मृत्यु भएको विवरण आएका छन्।
यो सामग्री बीबीसी नेपालीबाट साभार गरिएको हो।