News

रनवे परिवर्तन गर्न खोज्दा यसरी सेतीको खोँचमा खस्यो यतीको विमान

रनवे परिवर्तन गर्न खोज्दा यसरी सेतीको खोँचमा खस्यो यतीको विमान

आइतबार १० बजेर ३२ मिनेटमा यती एयरलाइन्सको नाइन एन एएनसी एटीआर–७२–५०० विमान काठमाडौंबाट पोखराका लागि हिड्यो। वरिष्ठ पाइलट कमल केसी, को–पाइलट अञ्जु खतिवडा, विमान परिचारिका ओसिन आलेमगर र सिर्जना होंगथुन सहित ७२ यात्रु बोकेको विमान १० बजेर ५९ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नु पर्ने थियो।

तर, अवतरणको अनुमति पाएर पनि उक्त विमान एयरपोर्टसम्म पुग्न पाएन। विमान अचानक सेती खोँचमा खस्यो। विमानमा रहेका चालकदलका ४ सहित सबै ७२ यात्रुको निधन भएको आशंका छ। ६८ जनाको मृत्यु पुष्टि भईसकेको छ भने ४ जना अझै फेला परेका छैनन्।

आन्तरिक उडानमा सबैभन्दा बढी मानवीय क्षति भएको यती विमान दुर्घटनाको कारण अझै खुलेको छैन। सरकारले दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति बनाएको छ। तर, विमान दुर्घटनाको मुख्य दुई वटा कारण हुन सक्ने अनुमान गरिएको छ।

विमानको इन्जिनमा समस्या भएको हुनसक्ने पहिलो अनुमान छ भने रनवे परिवर्तन गर्नुलाई दुर्घट्नाको अर्को कारणका रुपमा शंका गरिएको छ। फाइनल टर्न लिन खोज्दा लेफ्ट इन्जिन फेल भएर रिकभर गराउन नसकिएको हुन सक्ने जानकारहरु बताउँछन्।

एटीआर विमानमा दुइटा इन्जिन हुन्छन्। एउटा फेल भयो भने अर्काे इन्जिनको सहायताले कम्तीमा सुरक्षित अवतरण गराउन सकिने भए पनि लो अल्टिच्युडमा पुगिसकेको विमानलाई फेरि रिकभर गराउन नसकिने र यतीले त्यही नियति भोगेको हुनसक्ने धेरैको अनुमान छ। 

पोखरा विमानस्थलका एक अधिकारीले भने पाइलटले रनवे परिवर्तन गर्नु नै दुर्घटनाको कारक भएको बताएका छन्। ‘हाम्रो नर्मल आँखाले हेर्दा ह्युमन इरर देखिन्छ। सबै कुरा नर्मल थियो। ल्यान्डिङको बेला क्याप्टेनबाट कुनै इमरेजेन्सी रिपोर्ट  छैन। मौसम, टेक्निकल्ली केही इरर भएको खबर गर्न सकिन्थ्यो,’ ती अधिकारीले भन्छन्–‘टावरले ३० रनवे दियो, उताबाट १२ रनवे मागियो। त्यो बेलासम्म पनि केही इरर भएको भए खबर गर्न सकिन्थ्यो। पुरानो एयरपोर्टमा ल्यान्डिङ गर्ने विकल्प पनि थियो।’

ति अधिकारीका अनुसार खासमा सुरक्षित अवतरण भनेको ३० रनवे (पूर्व–पश्चिम) हो तर नर्मल अवस्थामा पाइलटहरु दुवैतर्फबाट ल्यान्ड गर्न खोज्छन्। रेटिङ बढाउने कुरा पनि हुन्छ। अर्को कुरा, पाइलटले दुवै साइडबाट ल्यान्ड गर्नुपर्ने पनि हुन्छ।’

विमानस्थलका अधिकारीले पाइलटको दोष देखाइरहँदा पाइलटहरुले विमान खराबीको कुरा उठाएका छन्। १५ वर्षअघि बनेको सो एटीआर जहाज सुरुमा भारतको किङफिसर कम्पनीले २००७ देखि २०१२ सम्म चलाएको थियो। त्यसपछि २०१३ देखि २०१८ सम्म थाइल्यान्डको नोक एयरले यसलाई चलाएको थियो। यतीले २०१९ मा नेपालमा यसलाई भित्र्याएको हो। 

नेपालमा चलाउन थालेको ३ वर्षमै यो विमान दुर्घटना भएपछि यसका प्राविधिक पक्षका बारेमा कुरा उठ्न थालेको छ। 

यो पनि,

विशेष